
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाह पार्टी सभापति लामिछानेलाई भेट्नका लागि उनको निवास पुगेका थिए । लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा सरकारको कार्यसम्पादनदेखि आगामी निर्वाचनको तयारीसम्मका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यस क्रममा भएका उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए। त्यसैगरी, आगामी निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा पनि दुई नेताबीच विचारविमर्श भएको बताइएको छ।
रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयहरूको कामकारबाही र सरकारको समग्र कार्यसम्पादनका विषयले पनि भेटमा स्थान पाएको थियो। यसका साथै अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटलाई आत्मीय र सौहार्दपूर्ण भनिए पनि पाँच घण्टासम्म चलेको छलफलमा उठेका विषयबारे थप विवरण सार्वजनिक गरिएको छैन। त्यस्तै, भेटबाट कुनै ठोस निर्णय वा निष्कर्ष निस्किएकोबारे पनि जानकारी दिइएको छैन।

























