
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार छुट्टाछुट्टै समयमा हुनुपर्ने बताएका छन्। दुवै तहको निर्वाचन एकैपटक गर्ने प्रस्तावले संविधानको मर्म र व्यवस्थामाथि प्रश्न उठाउने भन्दै उनले त्यसबाट मुलुक पुनः राजनीतिक दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले स्थानीय तह र प्रदेश सरकारलाई संविधानले सुनिश्चित गरेको पाँच वर्षको पूर्ण कार्यकाल उपभोग गर्न दिनुपर्नेमा जोड दिए। निर्वाचन कहिले एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने बहसमा अल्झिनुभन्दा संविधान र कानुनले गरेको व्यवस्थालाई पालना गर्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार स्थानीय तहको कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५–७ गतेसम्म रहेकाले स्थानीय तहको निर्वाचन वैशाखमा तथा प्रदेशसभाको निर्वाचन कात्तिक वा मंसिरको पहिलो साता गर्नुपर्छ।
प्रचण्डले आसन्न निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षासँग जोड्दै शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानसभाका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। राष्ट्रिय संकटको समाधानका लागि वामपन्थी शक्तिहरूबीचको एकता र सहकार्य महत्त्वपूर्ण भए पनि वामपन्थीहरू मात्रै मिलेर अहिलेको चुनौती सामना गर्न नसकिने उनको धारणा थियो।
‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानमाथि प्रहार भएको छ। त्यसको रक्षाका लागि सबै एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै शक्तिबीच सहकार्य आवश्यक छ। हामी सबैसँग संवादमा छौँ।’
यसैबीच, उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा टिप्पणी गरेका छन्।

























