
विराटनगर । पछिल्लो समय विराटनगर शैक्षिक केन्द्र बन्दै गएको छ । कक्षा ११ मा भर्ना हुनका लागि विराटनगरका विभिन्न कलेजहरूमा प्रवेश परीक्षा दिनेको भीड देखिन्छ ।
कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई अरनिको, कान्तिपुर, ग्रिनल्याण्ड, अर्किड, एभरेस्ट, भानु, लर्डबुद्धलगायतका कलेजहरूले प्रवेश परीक्षा लिएका छन् ।
विज्ञान, होटेल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा अध्ययन गर्नका लागि विद्यार्थीहरूले कलेजमा प्रवेश परीक्षा दिएका हुन् ।

अरनिको कलेजमा १ हजार ५० सिटका लागि २ हजारभन्दा बढी प्रवेश परीक्षामा सहभागी भएका थिए भने कान्तिपुर कलेजमा १ हजार ४ सय ३२ जना सहभागी भए ।
त्यस्तै, ग्रिनल्याण्ड कलेजमा १ हजार ५१ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भए । भानु कलेजको प्रवेश परीक्षामा ५ सय ५१ जना विद्यार्थी सहभागी भएका थिए ।
लर्डबुद्ध कलेजमा ५ सय ४० जनका लागि ७ सय ५६ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
यी कलेजमा अध्ययन गर्नका लागि कोशी, मधेस र बागमती प्रदेशबाट आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका छन् ।
विद्यार्थीहरूले एसईईमा ल्याएको अंक र प्रवेश परीक्षामा प्राप्त गरेको अंकको आधारमा अध्ययन शुल्कमा शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।



























