
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त रहेका ३ वटा संकायमा डीन नियुक्त गरेको छ ।
कला, शिक्षा, कानुन संकायको डीनमा जनसंख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमल प्रसाद दुलाल नियुक्त भएका छन् ।
त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डीनमा प्रा. डा. पवनकुमार झा र इन्जिनियरिङ संकायको डीनमा प्रा. डा. भोलानाथ शर्मा घिमिरे नियुक्त भएका हुनु ।
झा पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक थिए ।
घिमिरे त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पुलचोक इन्जिनियरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुन् ।
पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र रजिस्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त डीनहरूको कार्यकाल सफलताको कामना गर्दै उनीहरूको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त डीन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
डीनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलिया, रजिस्ट्रार मिश्र त्रिपाठी, चिकित्सा विज्ञान संकायका डीन डा. शैलेशमणि पोखरेल, कला, शिक्षा, कानुन संकायका डीन रामप्रसाद ढकाल, प्राध्यापक संघका सभापति यज्ञप्रसाद जम्मर कट्टेल, इन्जिनियरिङ संकायका सह डीन इ. हेमन्तकुमार गोइत, कर्मचारी संघका सभापति रूपेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

























