विराट क्याम्पसको ३४ औँ वार्षिकोत्सव सम्पन्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २९, बिहीबार २०:५१
विराट क्याम्पसको ३४ औँ वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले ३४ औँ वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह-परीक्षा नियन्त्रक गोविन्द गुरागाईंले तीन दशकदेखि शिक्षा क्षेत्रको  विकासमा क्याम्पसले पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ गुणस्तरीय र रोजगारमुखी शिक्षामा ध्यान दिनुपर्ने बताए ।

Advertisement

उनले त्रिभुवन विश्वविद्यालय पनि सूचना तथा प्रविधिको क्षेत्रमा अगाडि बढिरहेको हुनाले परीक्षा तथा नतिजा प्रकाशनमा ढिला सुस्ती नहुने गरी काम गरिरहेको प्रस्ट्याए ।

कार्यक्रमका उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै, क्याम्पसको स्थापना कालदेखि हालसम्म भएका प्रगति र आगामी योजना प्रस्तुत गरिएको थियो ।

क्याम्पसका अध्यक्ष आरसी कोइरालाले ३४ वर्षको शैक्षिक यात्रामा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा अनुसन्धान गतिविधिमा जोड दिने योजना सार्वजनिक गरे ।

सो अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने जहदा –४ को सार्वजनिक माविका पूर्व प्रधानाध्यापक अजयकुमार सिंह र बर्जुको रामसीता माविका पूर्व प्रधानाध्यापक शुभकलाल रायलाई सम्मान गरिएको थियो ।

त्यस्तै, यस क्याम्पसमा अध्ययन पूरा गरी विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीलाई समेत सम्मान गरियो । यसरी उत्कृष्ट पठनपाठनसँगै सामाजिक व्यक्तित्वलाई सम्मान गर्दा हाल अध्ययनरत विद्यार्थीहरूलाई समेत संस्थाप्रति थप जिम्मेवारी बोध हुने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत थोरै भए पनि सहयोग हुने प्राचार्य रोशन घिमिरेले बताए ।

त्यस अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, कविता वाचन तथा संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षाविद्, पूर्व विद्यार्थी, अभिभावक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.