
विराटनगर । विराटनगरको विराट क्याम्पसको नयाँ सञ्चालक तथा व्यवस्थापन समिति गठन भएको छ ।
हालै सम्पन्न क्याम्पस सञ्चालक समितिको बैठकले नयाँ कार्य समिति बनाउँदै पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ ।
समितिको अध्यक्षमा आरसी कोइराला, उपाध्यक्ष तथा कलेजको प्राचार्यमा रोशन घिमिरे, सचिवमा उमेश दाहाल, कोषाध्यक्षमा शिक्षा पौडेल सर्वसम्मत चयन भए ।
त्यस्तै, सदस्यहरूमा कैलाश दाहाल, हेमराज गुरुङ, अमित अग्रवाल, सरोज पौडेल र दृष्टि तिम्सिना चयन भएका छन् ।
शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार विकास, प्रविधिमैत्री कक्षा सञ्चालन, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थी हितका कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरेको बताउँदै, अध्यक्ष कोइरालाले भने, ‘पुनर्गठित समितिले क्याम्पसलाई प्रदेश –स्तरमै नमुना संस्थाको रूपमा स्थापित गर्ने छ ।’
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सम्बन्धन प्राप्त विराट क्याम्पसले २०४८ सालदेखि उच्च शिक्षाको स्तरोन्नतिमा योगदान पुर्याउँदै आएको छ । हाल क्याम्पसमा राष्ट्रिय शिक्षा परिषद्अन्तर्गत कक्षा ११ र १२ साथै स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
शैक्षिक कार्यक्रम सञ्चालन र व्यवस्थापनका लागि अध्यक्ष कोइराला, प्राचार्य घिमिरे, सहायक प्राचार्य अमित अग्रवाल, बीबीएस कोअर्डिनेटर कैलाश दाहाल र होटेल व्यवस्थापन कोअर्डिनेटर सरोज पौडेल रहने व्यवस्था गरिएको बताइएको छ ।

























