
विराटनगर । मनमोहन पोलिटेक्निकले इन्जिनियरिङतर्फका ३ वर्षे डिप्लोमा तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्राविधिक रूपमा दक्ष र जिम्मेवार जनशक्ति बन्न प्रेरित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हात्तीमुढास्थित कलेजमा आयोजित कार्यक्रममा सिभिल, आईटी, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीलाई भविष्यमा स्वदेशमै आफ्नो क्षमता देखाउँदै पेसामा सफल हुन प्रेरित गरिएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता तथा मनमोहन प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले ‘पढेरै होइन, सिकेको प्रयोग गरेर मात्र दक्ष बन्न सकिन्छ,’ भन्दै देशमै रोजगारी सिर्जना गर्ने अभियन्ता बन्दै अघि बढ्न विद्यार्थीलाई आग्रह गरे ।
उनले मनमोहन पोलिटेक्निकले ४ पटकसम्म देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको सम्मान पाएको उल्लेख गर्दै यहाँ अध्ययन गर्नु सबैका लागि सुरक्षित र लाभदायक लगानी हुने बताए ।
त्यसैगरी, विश्वविद्यालयका सिनेट सदस्य बलभद्र सरदार र कासिम मियाँले पढेर देशमै बसेर सेवा गर्नु नै नागरिकको कर्तव्य भएको बताउँदै प्राविधिक शिक्षाले देश विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ तथा एप्लाइड हेल्थ साइन्सकी डिन डा. रेखा शर्माले देशका धेरै अग्रणी इन्जिनियरहरू डिप्लोमा तहबाटै प्राविधिक यात्रामा प्रवेश गरेको उल्लेख गर्दै पोलिटेक्निकमा भर्ना भएका विद्यार्थी पनि भविष्यमा उच्च योग्यताका इन्जिनियर बन्न सक्ने विश्वास व्यक्त गरिन् ।
उनले डिप्लोमा स्तरको अध्ययनपछि उच्च शिक्षातर्फ जान सहज हुनेसमेत बताइन्।
मनमोहन पोलिटेक्निकका प्राचार्य सुदिय अधिकारीले संस्थाले व्यवहारिक र गुणस्तरीय पठनपाठनलाई निरन्तर प्राथमिकता दिँदै आएको कारण ४ पटकसम्म देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको बताए । उनका अनुसार पोलिटेक्निकबाट उत्पादन हुने विद्यार्थीहरूलाई स्वदेशमै रोजगारी पाउन सहज भएकाले बेरोजगार बस्नुपर्ने स्थिति सिर्जना नहुने सुनिश्चितता छ।
उत्प्रेरकका रूपमा सहभागी नेपाल प्रहरीका सई अशोक कार्कीले ‘देशलाई मनदेखि माया गर्न सके मात्र दक्ष नागरिक बन्ने यात्रा सार्थक हुन्छ,’ भन्दै देशभक्त –दक्ष जनशक्ति उत्पादनमा प्राविधिक शिक्षाको भूमिकामाथि जोड दिए ।
२०६२ मा भारत सरकारसँग सम्झौता भएदेखि २०६५ सालदेखि मेकानिकल, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल कार्यक्रम सञ्चालन गर्दै आएको मनमोहन पोलिटेक्निकले हाल सिभिल र आइटी इन्जिनियरिङसमेत पढाइरहेको छ। कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालयका रूपमा सञ्चालनमा छ।

























