प्रकाशकीय

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ३, सोमबार १४:३६

समय परिवर्तनशील छ । हिजोको कुरा आज र आजको भोलि नहुन सक्छ । त्यसैले त भनिन्छ, ‘समय अनुसार चल्नुपर्छ ।’ अझै सञ्चार क्षेत्र त प्रकाशको गतिमा चल्ने समय आएको छ ।

सूचनाको भोक सबैलाई छ । थाहा पाउने र दिने अधिकार नेपालको संविधानमै उल्लेख छ । संविधानको धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्था छ । सूचनाको हकलाई मौलिक हकभित्र समेटिएको छ । यो विषय हक र अधिकारको रूपमा स्थापित भएको छ ।

सूचना र सञ्चारको क्षेत्रमा हरेक दिन नयाँ–नयाँ प्रविधिको खोजी भइरहँदा विश्वमा सञ्चारमाध्यमको विकास पनि त्यही गतिमा भइरहेको छ । अनि सञ्चारमाध्यमसँग पाठक, श्रोता र दर्शकको अपेक्षा पनि दिन प्रतिदिन बढ्दो छ । सञ्चारमाध्यमको स्वरूपहरुमा आएको परिवर्तनसँगै पाठकले नयाँ–नयाँ विषयका सूचना र समाचार खोजिरहेका हुन्छन् । यही दौडमा हामीले मुलुकी सञ्चार नेटवर्क प्रा.लिमार्फत ‘मुलुकी खबर डट कम’ नामको अनलाइन सुरु गरेका छौँ ।

अनलाइन पत्रकारितालाई भूगोलको सिमानाले छेक्दैन । जहाँ तपाईं, त्यहाँ हामी पुग्ने छौँ । अनि, तपाईंको अपेक्षाअनुसार पत्रकारिताको ऐन, नियम तथा कानुन बमोजिम सूचना र समाचार पस्कने लक्ष्य हामीले लिएका छौँ । प्रविधिमा आएको व्यापक परिवर्तनलाई आमनागरिकले स्वीकारेको अवस्थामा आमसञ्चार माध्यमले साथ दिनैपर्छ ।

आमसञ्चारका स्वरूपहरुमध्ये अनलाइनको माध्यममा दिइने सूचना र समाचारमा तथ्य एवं तथ्यांक हुनैपर्छ । विभिन्न माध्यमको सूचनामा नागरिक अलमलिएका छन् । सामाजिक सञ्जालमा छिन–छिनमा आउने खबरले सही र गलत छुट्याउनै गाह्रो छ । सूचनाको श्रोत भएको सागरमा युट्युब, फेसबुक, इन्स्टाग्राम, एक्सलगायतका विभिन्न सामाजिक सञ्जालसँगै आमसञ्चार माध्यम पनि पौडनु छ । त्यो सागरबाट कसले के ल्याउँछ र नागरिकमा बाँड्छ टुंगो हुँदैन । यो लडाइँ नयाँ–नयाँ रूपमा चलिरहेको छ । दूषित र घृणित प्रतिस्पर्धाबाट बच्दै सही सूचना समयमै दिने हाम्रो उद्देश्य हो ।

लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रतामा हामी विश्वास गर्छौँ । लोकतन्त्र, राष्ट्रियता, संघीयतासहितको बहुलवाद र मानवअधिकार हाम्रा आदर्श हुन् । कसैको अधिकारका लागि लडाइँ गर्दा अरु कसैको अधिकार हनन् हुनुहुन्न भन्नेमा हामी सचेत छौँ । हरेक सार्वजनिक निकाय जवाफदेही हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले राज्य सञ्चालकहरू, राज्यका निकायहरू, जवाफदेहिताको ओहोदामा बसेकाहरुलाई जवाफदेही र उत्तरदायी बनाउने प्रयासमा अब ‘मुलुकी खबर डट कम’ सधैँ उभिने छ ।

आमनागरिकले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा देखिएका र भइरहेका जटिलतालाई यसले चिर्ने छ । बिग्रिएका, भत्किएका र भ्रष्टाचारजन्य क्रियाकलापविरुद्ध हामीले निरन्तर निगरानी तथा खबरदारी गरिरहने छौँ । नागरिकको चासो र गुनासोका लागि हामी सधैँ ढोका खुल्ला राख्ने छौँ । पल–पलको खबर अरुभन्दा फरक बनाउने प्रयास गर्ने छौँ ।

मुलुकमा संघीयतासँगै तीन तहको सरकार छ । गाउँ–गाउँमा सिंहदरबारको नारा लागेको लामो समय भयो । ती दरबारका सरकारले गरेका हरेक काममा निगरानी गर्ने हाम्रो अभियान रहने छ । अपराधमुक्त समाज निर्माणमा हामी साथ दिने छौँ । कानुन कार्यान्वयन र न्यायका पक्षमा उभिने छौँ । शोषित र पीडित वर्गका आवाज उठाउने छौँ ।

समाजका विकृति र विसंगति अन्त्यका लागि सदैव लाग्ने छौँ । अपराध, विकृति, विसंगति र भ्रष्टाचार समाजका रोग हुन् । समृद्धिका बाधक हुन् । कानुनविपरीत हुने जुनसुकै गतिविधिको भण्डारफोर गर्दै स्वच्छ समाज निर्माणमा अहोरात्र खटिने छौँ । समाजमा भएका राम्रा काम र असल अभ्यासको समर्थन गर्छौैँ । ‘आलोचनान्तमक समर्थन’ पत्रकारिताको धर्म हो ।

‘सञ्चारमाध्यमले नकरात्मक मात्रै खोज्छन्’ भन्ने भनाइ यस अनलाइनले चिर्नेछ । सरकारले गरेका राम्रा काम, सुशासनका अभ्यास र सकारात्मक प्रयासलाई पनि हामी उत्तिकै प्राथमिकतामा राख्ने छौँ । राजनीतिक स्वार्थ र गन्धबाट टाढा रहेर राज्य संयन्त्रलाई पहरेदारी गर्ने तथा जिम्मेवार बनाउने भूमिकामा सँगसँगै रहने छौँ ।

कुनै राजनीतिक विचारलाई पक्षपोषण वा निषेध हाम्रो नीति हैन । यो अनलाइनलाई जाति, धर्म, वर्ण, लिंग, क्षेत्र, राजनीतिकवाद वा सिद्धान्तका आधारमा कसैलाई निषेध नगरी र कोहीप्रति पूर्वाग्राही नभइकन सबैको साझा चौतारी बनाउने हाम्रो प्रतिबद्धता छ ।

अनलाइन पत्रकारितामा व्यावसायिक, मर्यादित र उत्तरदायी यो प्रयासमा पक्कै पनि स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूको सकारात्मक साथ चाहन्छौँ । हामीले समयअनुसार सुझाव र सल्लाहको पनि अपेक्षा राखेका छौँ । पल–पलको खबर तपाईंकै हात–हातका मोबाइल र साथका कम्प्यूटरमा हामी पुर्याउने छौँ ।

समय मल्टिमिडियाको हो । हामी तपाईंकै चाहनामा मिठास थपेर हरेक माध्यममा सूचना पुर्याउने छौँ । विभिन्न क्षेत्रका घटना र मुद्दालाई विविध कोणबाट व्याख्या गरी सम्बन्धित निकायको ध्यानाकर्षण मात्र होइन, उनीहरूलाई जिम्मेवार बनाउने छौँ । नागरिकको समस्याको समाधान खोज्दै आमनागरिकको सुखदुःखको सारथि बन्ने छौँ । रचनान्तमक प्रतिक्रिया र आलोचना हाम्रो स्वीकार्यता हो । आलोचना र प्रतिक्रियालाई सुझावका रूपमा आत्मसात् गरी जिम्मेवारपूर्ण ढंगबाट अगाडि बढ्ने छौँ । काम गर्नेबाट नै त्रुटिहरु हुन्छन् । कमजोरीहरुबाट पाठ सिक्दै र परिस्कृत हुँदै कम त्रुटि गर्ने प्रतिबद्धता जनाउँछौँ । यो अभियानमा तपाईंको पक्कै पनि साथ रहने अपेक्षा छ ।

मुलुकी सञ्चार नेटवर्क प्रा.लि परिवार

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.