कार्कीको पुनर्बहाली मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १५:५६

काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका विषयमा छलफल गर्न विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई झिकाउने आदेश गरेको छ ।

कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल र डा. दिनमणि पोखरेल तथा अधिवक्ताहरू टीकाबहादुर कुँवर र माधव बस्नेतलगायतले अन्तरिम आदेश माग गर्दै बहस गरेका थिए ।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै महानिरीक्षक पदमा पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए । उनले नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न नदिन र आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न पनि अन्तरिम आदेश माग गरेका थिए ।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.