सांसदका छोराले विनालाइसेन्स चलाए मोटरसाइकल, ठक्करबाट पैदलयात्रीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ९, बुधबार १८:४९

विराटनगर । नेकपा (एमाले)को तर्फबाट कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद) रहेकी ललिताकुमारी चौधरीका छोराले विनालाइसेन्स चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवकको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएकी ललिताकुमारीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको प्रदेश १–०२–०४४ प ८४४ नम्बरको मोटरसाइकलले ४ दिनअघि पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका–१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डल गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा–१ स्थित हिमगिरी साबुन फ्याक्ट्रीअगाडि भदौ ५ गते शनिबार साँझ ७ः१० बजेतिर आकाशलाई ठक्कर दिएको हो । बाटो क्रस गर्दैगर्दा दुर्घटनामा परेका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा बुधबार बिहानका राति २ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

तीव्र गतिका कारण भएको दुर्घटनामा परेर मोटरसाइकल चालक अक्षत माझी पनि घाइते भएका छन् । टाउको, अनुहार, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराटमै उपचार भइरहेको छ ।

नातामा दिदी पर्ने मनिषा माझीका अनुसार आकाश र उनकी पत्नी उषा तामाङ बूढीगंगा–१ मा कोठा भाडामा लिएर बस्थे । डेरामा बसेर उनीहरु नजिकैको बूढीगंगा–१ को अमन होटलमा काम गर्थे । ‘दुर्घटना गराउने पक्षले आकाशको उपचारमा कुनै कमी हुन दिएनन् । अन्यत्र लगेर भएपनि उपचार गराइदिन्छौं, चिन्ता नलिनु भन्थे । तर, मान्छे नै बचाउन सकिएन,’ मनिषा भन्छिन् ।

डीएसपी बस्नेतका अनुसार तीव्र गतिका कारण भएको दुर्घटनामा परेर मोटरसाइकल चालक अक्षत माझी पनि घाइते भएका छन् । टाउको, अनुहार, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराटमै उपचार भइरहेको जानकारी बस्नेतले दिए । उपचारमा संलग्न चिकित्सकले अक्षतको करङसमेत भाँचिएको बताएका छन् ।

मोटरसाइकल चालक अक्षतसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स)समेत नभएको पाइएको छ । लाइसेन्स प्राप्त नगरेका व्यक्तिले लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मोटरसाइकल अक्षतकै नाममा छ ।

‘विनालाइसेन्स मोटरसाइकल चलाउँदा दुर्घटना भएको देखिन्छ । मोटरसाइकल चालक सांसदका छोरा हुन् । अहिलेसम्म अस्पतालमै रहेका उनलाई जोगाउन अनेक चलेखल हुँदैछ । प्रहरीलाई समेत दबाब आइरहेको छ । सत्ताको पहुँचका भरमा भित्रभित्रै घटनालाई मिलाउने र दबाउने प्रयास भइरहेको छ,’ स्रोतले भन्यो ।

मृतक पक्षले अक्षतविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । सवारी ज्यान मुद्दामा जाहेरी परेको र घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारका सदस्यले शव जिम्मा लिएर लगेका छन् ।

दुर्घटना हुनुको पछाडि अभिभावकको पनि लापर्बाही देखिने प्रहरी अधिकारीहरु बताउँछन् । ‘लाइसेन्स नै प्राप्त नगरेका छोरालाई मोटरसाइकल किनेर चलाउन दिइएको रहेछ । त्यो अभिभावकको लापर्बाही हो,’ प्रहरीका एक अधिकृतले भने ।

प्रदेश सांसद ललिताकुमारीका पति धीरेन्द्र माझी फरवार्ड नामक लघुवित्तमा कार्यरत छन् । पूर्वमन्त्री एवं एमाले नेतृ भगवती चौधरी फरवार्ड लघुवित्तको संस्थापक हुन् । छोरा अक्षत काठमाडौं बसेर पढ्ने गरेको स्थानीय बताउँछन् ।

दुर्घटना हुनुको पछाडि अभिभावकको पनि लापर्बाही देखिने प्रहरी अधिकारीहरु बताउँछन् । ‘लाइसेन्स नै प्राप्त नगरेका छोरालाई मोटरसाइकल किनेर चलाउन दिइएको रहेछ । त्यो अभिभावकको लापर्बाही हो,’ प्रहरीका एक अधिकृतले भने ।

ललिताकुमारी सत्तारुढ एमालेको तर्फबाट समानुपातिक सांसद छिन् । एमाले प्रदेश संसदीय दलको सचेतक पनि हुन् । घटनाका विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् । पटक–पटक गरिएको फोन उठाइनन् । घटना मिलाउन दौडधूप गरिरहेको प्रहरी स्रोतले बतायो ।

यस्तो छ कानुनी व्यवस्था

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले चालक अनुमति प्राप्त नगरिकन सवारीसाधन चलाउन नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ४५ मा कुनै पनि व्यक्तिले चालक अनुमति प्राप्त नगरी कुनै पनि सवारी चलाउन नहुने भनिएको छ । दफा ४७ को (ख)मा २ पांग्रे सवारीका लागि १६ वर्ष उमेर पूरा भएको व्यक्तिले चालक अनुमति पत्र प्राप्त गर्न सक्ने उल्लेख छ ।

तर, सांसद ललिताकुमारीका छोराले भने लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरकाले मोटरसाइकल चलाउँदा भएको दुर्घटनामा पैदलयात्रीको ज्यानै गएको छ । दुर्घटना गराएबापत हुने कारबाहीबाट छोरालाई जोगाउन उनले दौडधूप र अनेक चलखेल गरिरहेको प्रहरी स्रोतले बतायो ।

कति हुन्छ सजाय ?

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ मा सवारी दुर्घटनामा ज्यान मरेमा हुने सजायको व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काइस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी बलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।’

उपदफा २ मा भनिएको छ, ‘कसैको ज्यान मर्न सक्छ भने अवस्था देखिँदा देखिदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा यो बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै या मोही चोटको परिणाम स्वरुप एकाईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

त्यस्तै उपदफा ४ मा भनिएको छ, ‘चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुनेछ । तर, जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।’

clockप्रकाशित मिति:  २०८१ आश्विन ९, बुधबार १८:४९
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.