
काठमाडौं । मुगुको रारा जाने कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको जिप छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा करिब ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आइतबार बा १७ च १८६४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ १७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्याएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए। मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । उनीहरू दुवैको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























