
मुगु । रारा घुम्न जाने क्रममा भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् । दुई जना घाइते भएका छन् ।
मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँनजिक आइतबार साँझ पर्यटक बोकेको स्कारपियो दुर्घटनामा परेको हो । रारा तालतर्फ गइरहेको बा १७ च १८६४ नम्बरको स्कारपियो सडकको जिरो प्वाइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु लैजाने तयारी भइरहेको डीएसपी रविराज थपलियाले जानकारी दिए ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतक र घाइतेको पहिचान हुन बाँकी छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

























