कांग्रेसको आन्दोलनपछि रंगेलीले घटायो कर

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १५, मंगलवार २०:२२

विराटनगर । रंगेली नगरपालिकाले  करको दर घटाएको छ । चालु आर्थिक वर्षका लागि रंगेली नगरपालिकाले विभिन्न शीर्षकमा करको दर बढाएको थियो । नेपाली कांग्रेसले आन्दोलन गरेपछि विशेष नगरसभा बोलाएर नगरपालिकाले करको पुरानै दर कायम गरेको हो ।

नगरको करको दर पुरानै कायम गरेपछि मेयर दिलिपकुमार अग्रवाल (बगडिया)ले आफ्नो कार्यकाल भरी कर नबढाउने घोषणा गरे ।  मंगलबार पत्रकार सम्मेलन गर्दै मेयर बगडियाले आर्थिक वर्ष २०८१–०८२ का लागि पारित भएको सिफारिस दस्तुर आर्थिक वर्ष २०८०–०८१ बमोजिम नै कायम गरिएको जानकारी दिए ।

पालिकाले निर्धारण गरेको कर

जग्गा नामसारी सिफारिसका लागि बिक्री प्रयोजनमा प्रतिकठ्ठा  एकहजार रुपैयाँ उल्लेख भएकोमा व्यवसायीक रुपमा जग्गा कारोबार गर्नेको हकमा घर बाटो सिफारिसका लागि मात्र उक्त कर कायम गर्ने जनाएको छ । व्यक्तिको बक्राहा डास, चिसाङ, लोहन्द्रा खोला छेउ खोला उकास र खोला तटीय क्षेत्रका बाली नलाग्ने निजी जग्गामा वडा समितिको निर्णयका आधारमा एक आर्थिक वर्षको प्रति कठ्ठा पाँच रुपैयाँ कायम गरेको छ । वडा समितिले निर्णय गर्दा सर्जमिन गर्नुपर्ने भएमा सर्जमिन बापतको रकम नलिने पनि कार्यालयले जनाएको छ ।

जग्गा बिक्री, हक हस्तान्तरण, नामसारी, रजिष्ट्रेसन आदी कार्यको लागि लिएको सिफारिस तोकिएको मिति सम्म उक्त कार्य सम्पन्न नभएमा सो आर्थिक वर्ष भित्र सोही व्यहोराको सिफासिर लिनुपर्ने भएमा पुरानो सक्कल सिफारिस वडामा बुझाएमा नयाँ सिफारिस बापत कुनै शुल्क नलाग्ने अग्रवालले बताए । नम्बरी जग्गामा खर वा परालले छाएको घरको हकमा सो घरको घर कर पूर्ण रुपमा निःशुल्क हुने पनि बताए ।

नगरपालिका भित्र विभिन्न प्रकारका (हुलाकी राजमार्ग उत्तर–दक्षिण पूर्व–पश्चिम, कालो पत्रे भएका भित्री सडकहरू, ग्राभेल भएका सडकहरू, कच्ची सडक) सडकहरुले छोएको जग्गाको हकमा ३ कठ्ठा थ्रेसहोल्ड मानी ३ कठ्ठा जग्गाको मालपोत सोही प्रकरण अनुसारको लिने र बाँकी जग्गाको हकमा खेती योग्य जग्गाको सरह मालपोत लिने जनाएको छ । सुकुम्बासीको हकमा घर कर निःशुल्क गर्ने जनाएको छ ।

नयाँ व्यवसाय दर्ता गर्दा तथा नवीकरण शुल्क जोडेर लिने गरिएकोमा व्यवसाय दर्ता भएको आर्थिक वर्षमा नवीकरण शुल्क नलिई सो आर्थिक वर्षमा दर्ता शुल्क मात्र लिने बताए ।

रंगेली नगरपालिकामा विपन्न, दलित, सीमान्तकृत, आदिवासी, जनजाति तथा पछाडी परेका नागरिकको अवस्था उकास्ने, गुणस्तर सहितको पूर्वाधार निर्माणको काम सघन रुपमा गर्ने, गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, कृषि विकास, शिक्षा तथा खेलकुद, वन तथा वातावरण, धर्म तथा संस्कृति जगेर्ना, सुशासन र पारदर्शिता लगायतका कार्यहरुमा काम गर्दै आएको छ  ।

नगरपालिका क्षेत्र भित्रका सडकहरुम सडक बत्ती जडान, सडक बत्तीको विद्युतिय महशुलको भुक्तानी, सुकुम्वासी, दलित, सिमान्कृत, अति विपन्न २१०० परिवारहरुलाई निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क रगत व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र स्थापना तथा व्यवस्थापन, आर्यघाटमा सबैलाई निःशुल्क दाउरा उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।

९ वटै वडालाई समेटर ३८ किलोमिटर कालोपत्रे सडक निर्माणको कार्य भइरहेको, ४ वटा पालिका (धनपालथान, रंगेली, कानेपोखरी र सुनवर्षी)का लागि रंगेलीमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको कार्य शुरु भएको, रंगेली कृषि बजार, दोहमाना कृषि तथा पशु हाट बजार, कोल्ड स्टोर निर्माणको कार्य सम्पन्न हुने क्रममा रहेको उनले बताए । हरित नगरका लागि हुलाकी मार्गको डिभाइडर फुटपाथ र मूल सडहरुमा वृक्षरोपण, सबै वडाहरुमा अनलाइनबाट राष्ट्रिय परिचय पत्र दर्ता वितरण कार्य गरिरहेको उनले बताए ।

clockप्रकाशित मिति:  २०८१ आश्विन १५, मंगलवार २०:२२
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.