बजारमा भारतीय फूलको रजगज, स्वदेशी किसानको लगानी जोखिममा

Share this
783shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ कात्तिक १८, बुधबार १३:५७

विराटनगर । तिहार नजिकिएसँगै बजारमा सयपत्री र मखमली फूलको कारोबार बढ्न थालेको छ । चाडपर्वलाई लक्षित गरेर मोरङका विभिन्न स्थानमा व्यावसायिक फूल खेती विस्तार भइरहेका बेला स्वदेशी किसानका लागि भारतीय फूल मुख्य चुनौती बनेको छ ।

सरकारले प्राकृतिक तथा कृत्रिम फूल आयातमा प्रतिबन्ध लगाएको दाबी गरे पनि विराटनगरलगायतका बजारमा भारतीय फूल खुलेआम बिक्री भइरहेका छन् । यसले स्वदेशमै लगानी गरेर फूल उत्पादन गरिरहेका किसानलाई आफ्नो उत्पादनले उचित बजार नपाउने चिन्ता थपिएको छ । अर्थात्, बजारमा भारतीय फूलको रजगज चलिरहेको छ ।

मोरङको सुन्दरहरैँचा, कटहरी र विराटनगर क्षेत्रमा पछिल्लो समय सामूहिक तथा व्यावसायिक रूपमा फूल खेती गर्ने क्रम बढेको छ । पहिले तिहारको माग धान्न भारतबाट सयपत्री र मखमली फूल आयात गर्नुपर्ने अवस्था रहे पनि अहिले स्थानीय स्तरमै उत्पादन विस्तार हुन थालेको छ । किसानले खेतीको क्षेत्रफल बढाउँदै लगेका छन् । तर, उत्पादन बढेसँगै बजारमा भारतीय फूलको अवैध प्रवेश नरोकिँदा स्वदेशी उत्पादनको मूल्य र बजार दुवै प्रभावित हुने जोखिम देखिएको छ ।

कटहरी गाउँपालिका–४ नयाँ बजार नजिकै तीन बिघा जग्गा भाडामा लिएर तीन जनाको संयुक्त लगानीमा सयपत्री खेती गरिरहेका रामकुमार राजवंशीलाई यसैको चिन्ता छ । उनका अनुसार सरकारले आयातमा प्रतिबन्ध लगाएको भने पनि बजारमा भारतीय प्राकृतिक र प्लाष्टिकका फूल तथा माला सहजै बिक्री भइरहेका छन् । सीमाबाट हुने चोरी पैठारी रोक्न र बजारमा अनुगमन गर्न सरकारी निकायले प्रभावकारी भूमिका नखेलेसम्म स्वदेशी किसानले लगानी सुरक्षित गर्न सक्ने अवस्था छैन ।

राजवंशीले गत वर्ष डेढ बिघा जग्गा भाडामा लिएर पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेका थिए । तीन जना साथी मिलेर परीक्षणका रूपमा थालेको खेतीबाट सोचेभन्दा राम्रो आम्दानी भएपछि यस वर्ष क्षेत्रफल दोब्बर बनाएका हुन् । गत वर्ष खेती, उत्पादन र बिक्रीमा भएको सम्पूर्ण खर्च कटाएर करिब १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए । त्यही आम्दानीबाट उत्साहित भएर यस वर्ष करिब १२ लाख रुपैयाँ थप लगानी गरी तीन बिघामा फूल लगाएका छन् ।

‘गत वर्ष पहिलोपटक खेती गर्दा सोचेभन्दा राम्रो आम्दानी भयो । भारतीय फूल बजारमा नआउने हो भने हामीजस्ता किसानले अझ राम्रो मूल्य पाउने थियौँ । यस वर्ष लगानी बढाएर तीन बिघामा खेती गरेका छौँ । उत्पादनअनुसार सबै फूल बिक्री भयो भने राम्रो आम्दानी हुने अपेक्षा छ,’ राजवंशीले भने ।

उनका अनुसार फूल खेतीमा लगानी बढ्दै जाँदा जोखिम पनि बढेको छ । फूल निश्चित समयमै बिक्री गर्नुपर्ने भएकाले बजारमा माग घटे वा बाहिरबाट सस्तो फूल आए किसानको लगानी डुब्ने अवस्था हुन्छ । अन्नबालीजस्तो उत्पादन लामो समय भण्डारण गरेर राख्न नसकिने भएकाले फूल बिक्री हुन नसके खेतमै कुहिने समस्या हुन्छ । त्यसैले किसानका लागि उत्पादनसँगै बजारको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण छ ।

‘सरकारले एकातिर भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाएको भन्छ, अर्कोतिर विराटनगरका बजारमा प्राकृतिक र प्लाष्टिकका फूल छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । भन्सारबाट आएको होइन भन्छन्, प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको दाबी गर्छ । त्यसो भए बजारमा यी फूल कसरी आइपुग्छन् ?,’ राजवंशीले प्रश्न गरे ।

उनले सीमा क्षेत्रमा हुने चोरी, तस्करी नियन्त्रणसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । प्रतिबन्धित वस्तु खुलेआम बिक्री भइरहँदा स्वदेशी किसानले गरेको लगानीको संरक्षण हुन नसकेको उनको भनाइ छ । प्रहरी प्रशासन र सम्बन्धित निकायले सीमामा कडाइ गरेको दाबी गरे पनि ठूलो परिमाणमा फूल बजारसम्म आइपुग्नुले नियन्त्रण प्रणालीमाथि प्रश्न उठाएको उनले बताए ।

राजवंशीका अनुसार मोरङमै पहिले व्यावसायिक रूपमा फूल खेती गर्ने किसानको संख्या निकै कम थियो । अहिले विराटनगर, सुन्दरहरैँचा र कटहरीमा खेती विस्तार भएको छ । पहाड तथा तराईका विभिन्न क्षेत्रमा समेत अन्य बालीको सट्टा फूल खेती गर्ने किसान बढिरहेका छन् । स्थानीय उत्पादनले भारतीय फूललाई केही हदसम्म विस्थापित गर्न थालेको उनको भनाइ छ ।

‘पहिले नेपाललाई चाहिने फूल भारतबाट ल्याउनुपर्ने अवस्था थियो । अहिले यहाँ पनि उत्पादन बढेको छ । फूल खेतीबाट राम्रो आम्दानी हुने देखेपछि किसानको आकर्षण बढेको छ । सरकारले प्रोत्साहन र बजार व्यवस्थापनमा सहयोग गर्ने हो भने स्वदेशमै माग पूरा गर्न सकिन्छ,’ उनले भने ।

यस वर्ष सयपत्रीको सिजन सकिएपछि केही जग्गामा धान, मकैजस्ता अन्नबाली लगाउने र बाँकी जग्गामा गुलाब तथा रजनिगन्धाजस्ता अन्य मौसमी र नियमित बिक्री हुने फूल खेती गर्ने योजना राजवंशीको छ । फूल खेतीलाई एक सिजनमा सीमित नराखी वर्षभरि आम्दानी हुने व्यवसायका रूपमा विकास गर्ने उनको सोच छ ।

यता फूल व्यवसायी भने स्वदेशी उत्पादनले सबै समयमा बजारको माग धान्न नसक्ने तर्क गर्छन् । विशेषगरी तिहार, विवाह तथा अन्य चाडपर्वको समयमा फूलको माग अत्यधिक बढ्ने भएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । असोजदेखि फागुनसम्म चाडपर्व र विवाहको मौसम हुने भएकाले सयपत्री, मखमलीलगायतका फूलको खपत बढी हुन्छ । पछिल्लो समय सभा समारोहका स्टेज सजावट र माला बनाउनसमेत फूलको प्रयोग बढेकाले माग थप विस्तार भएको व्यवसायी बताउँछन् ।

विराटनगरका एक फूल व्यवसायीले अन्य समयमा स्थानीय उत्पादनले धान्न नसक्ने माग चाडपर्व र विवाहको सिजनमा झन् बढ्ने बताए । ‘यहाँ उत्पादन भएको फूलले सबै माग पूरा गर्न सक्दैन । माग बढेपछि भारतबाट ल्याउनुपर्ने अवस्था हुन्छ । सरकारले कडाइ गरेपछि अहिले पहिलेको तुलनामा थोरै मात्रामा कोलकाताबाट फूल आउने गरेको छ,’ राजवंशीले भने ।

उनका अनुसार भन्सारबाट कानुनी रूपमा फूल ल्याउन नपाएपछि कतिपय व्यवसायीले जोखिम मोलेर सानो परिमाणमा चोरी पैठारी गर्ने गरेका छन् । प्रहरीले पक्राउ गरे लगानी डुब्ने डरले त्यस्ता फूल महँगोमा बिक्री गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यद्यपि, अवैध रूपमा फूल भित्राउने कामलाई बजारको माग र आपूर्तिसँग जोडेर मात्रै हेर्न नहुने तथा कानुनी प्रक्रिया पूरा गरेर व्यापार गर्न पाउनुपर्ने उनको धारणा छ ।

विराटनगरको न्यू कलकत्ता फ्लावर एण्ड डेकोरेटका सञ्चालक रतन जानाले भने भारतबाट फूल ल्याउने व्यवसाय छाडेर आफ्नै खेतीलाई प्राथमिकता दिएका छन् । उनले विराटनगर–६ केसलिया खोला नजिकै आठ बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूल खेती गर्दै आएका छन् । आफ्नै उत्पादनले व्यवसाय धान्न सक्ने भएकाले अहिले भारतबाट फूल ल्याउने सोच नरहेको उनले बताए ।

‘पहिले भन्सार हुँदै फूल ल्याएर बिक्री गर्थें । तर, भारतबाट ल्याउन बन्देज हुनुभन्दा केही वर्षअघिदेखि नै यहाँ खेती सुरु गरेको हुँ । अहिले आफ्नै उत्पादन पर्याप्त छ । भन्सार तिरेर कानुनी रूपमा ल्याउन पाए व्यापार गर्न सहज हुन्थ्यो । चोरीको बाटोबाट ल्याउँदा दुःख पनि हुन्छ र प्रहरीले समात्दा लगानी नै डुब्छ’, जानाले भने ।

उनले गत वर्ष बाढीका कारण ठूलो क्षति व्यहोर्नु परेको बताए । फूल फुल्ने अवस्थामा पुगेका सयपत्री र मखमलीका बोट बाढीले नष्ट गरेपछि घाटा लागेको उनको भनाइ छ । यसले फूल खेतीमा बजारको जोखिमसँगै प्राकृतिक विपत्तिको जोखिमसमेत रहेको देखाउँछ ।

स्वदेशी उत्पादनलाई बजारमा स्थापित गर्न सरकारले आयात नियन्त्रणको नीति लिएको भए पनि त्यसको कार्यान्वयनमा कमजोरी देखिएको किसानको गुनासो छ । प्राकृतिक फूल र कृत्रिम प्लाष्टिकका फूल दुवैमा प्रतिबन्ध रहेको अवस्थामा बजारमा दुवै प्रकारका फूल बिक्रीका लागि राखिनु अनुगमन प्रणालीमाथिको गम्भीर प्रश्न भएको सरोकारवाला बताउँछन् । विशेषगरी प्लाष्टिकका कृत्रिम फूलले स्थानीय किसानको उत्पादनसँग प्रत्यक्ष प्रतिस्पर्धा नगरे पनि बजारको हिस्सा ओगट्ने र प्राकृतिक फूलको कारोबारलाई प्रभावित गर्ने व्यवसायीको भनाइ छ ।

केही समयअघि मात्रै सशस्त्र प्रहरीले विराटनगरका दुईवटा कोल्डस्टोरमा भण्डारणका लागि लैजान लागिएको करिब २५ लाख रुपैयाँ बराबरको प्राकृतिक सयपत्री फूल बरामद गरेको थियो । ठूलो परिमाणमा फूल बरामद हुनुले प्रतिबन्धित वस्तु सीमाबाट भित्रिएर बजारसम्म पुगिरहेको तथ्यलाई थप उजागर गरेको छ । साना परिमाणमा लुकाएर ल्याउन सकिने भए पनि लाखौँ रुपैयाँको फूल कोल्डस्टोरसम्म पुग्नुले सीमा सुरक्षा र बजार निगरानी प्रभावकारी छ कि छैन भन्ने प्रश्न उठाएको छ ।

मोरङको भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा नेपाल र सशस्त्र प्रहरी चौबीसै घण्टा परिचालित छन् । सीमा सुरक्षाका लागि बर्दीधारी सुरक्षाकर्मीसँगै सूचना संकलनका लागि सादा पोसाकका प्रहरीसमेत खटिने गरेका छन् । तर, त्यही सीमा हुँदै प्रतिबन्धित फूल बजारसम्म पुगिरहेको विषयले सुरक्षा निकायको निगरानीमाथि प्रश्न उठाएको छ ।

एक व्यवसायीले प्रहरी प्रशासनसँगको मिलेमतोबिना ठूलो परिमाणमा सामान भित्राउन कठिन हुने दाबी गरे । ‘प्रहरीलाई लाइन नमिलाई सामान ल्याउन सकिँदैन । फूल मात्रै नभएर अन्य सामानको अवस्था पनि उस्तै छ । उनीहरूलाई लाइन दिनैपर्छ’, उनले भने ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतले पछिल्लो चार–पाँच वर्षदेखि सरकारले फूल आयातमा प्रतिबन्ध लगाएकाले भन्सारको कानुनी प्रक्रियाबाट फूल आयात नभएको बताए । उनका अनुसार भन्सार हुँदै ल्याउन खोजिएको फूल फेला परे जफत गरी नष्ट गर्ने गरिएको छ ।

‘सरकारले नै प्रतिबन्ध लगाएका वस्तु भन्सार हुँदै कसरी आउँछन् ? यहाँबाट कानुनी रूपमा कुनै पनि प्रकारका फूल गएको छैन । कसैले भन्सार हुँदै ल्याएको पाइए जफत गरेर नष्ट गर्छौं’, बस्नेतले भने । ताजा तथा कृत्रिम फूल आयात भएको तथ्यांक भन्सार कार्यालयमा नरहेको उनको भनाइ छ ।

प्राकृतिक फूल विदेशबाट कानुनी रूपमा आयात गर्न क्वारेन्टाइन जाँचलगायत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर, बजारमा बिक्री भइरहेका फूलको स्रोत, आयातको बाटो र वैधानिकताबारे प्रभावकारी अनुगमन हुन नसकेको देखिन्छ । भन्सार कार्यालयले आफ्नो नाकाबाट आयात नभएको दाबी गरिरहँदा बजारमा प्रतिबन्धित फूलको बिक्री जारी रहनुले सीमा सुरक्षा, राजस्व अनुसन्धान, क्वारेन्टाइन र स्थानीय बजार अनुगमन गर्ने निकायबीच समन्वयको अभाव देखाउँछ ।

तिहार फूल उत्पादक किसानका लागि वर्षभरिको लगानीबाट आम्दानी गर्ने मुख्य अवसर हो । यही समयमा बजारमा अवैध रूपमा भित्रिएका फूलले प्रतिस्पर्धा बढाउँदा किसानको उत्पादनले उचित मूल्य नपाउने जोखिम हुन्छ । सरकारले आयात प्रतिबन्धको घोषणा गरेर मात्रै स्वदेशी उत्पादनको संरक्षण हुँदैन । सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण, बजारमा बिक्री हुने फूलको स्रोत पहिचान, नियमित अनुगमन र दोषीमाथि कारबाही आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

स्वदेशमै फूल खेती विस्तार भइरहेको छ । तर, प्रतिबन्ध कागजमा सीमित देखिन्छ । किसानहरुले प्रतिबन्ध बजारमा कार्यान्वयन हुनुपर्ने बताए । अन्यथा लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरेका फूल किसानका लागि आम्दानीको स्रोत नभई खेतमै कुहिने जोखिमपूर्ण व्यवसाय बन्ने उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.