
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुली प्रयोग गरेबापतको बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीबार साँझ ४९ वटा उद्योगको लाइन काटेको छ ।
ती उद्योगहरुले प्राधिकरणले दिएको समयसीमाभित्र बिजुलीको बक्यौता तिरेका थिएनन् । प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर बक्यौता बुझाउन उद्योगहरुलाई कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएको थियो ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको हो । हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटिएको उद्योगीहरुले बताएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार साँझ मात्रै उर्जा मन्त्री दीपक खड्कालाई भेटेर उद्योगको लाइन नकाट्न मन्त्रिपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि निर्णय भने गरिएन ।
विद्युत प्राधिकरणले बिल दिए पनि बिजुली प्रयोग गरेको प्रमाण नदिएका कारण बक्यौता नतिर्ने अडान उद्योगीहरुले राख्दै आएका छन् । उद्योगीकै अडानका बीच प्राधिकरण भने ‘एक्सन’मा उत्रिएको छ ।

























