
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। उनका साथबाट १ केजी ८०३.७७ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चीनको जिलिन प्रान्तका ४८ वर्षीय जियानहुआ वाङ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार वाङ मंगलबार (आज) बिहान १ः२५ बजे हङकङबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका थिए।
शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरी लुकाइ छिपाई ल्याएको सुन १ केजी ८०३.७७ ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
सुनसहित पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरन पठाइएको प्रहरीले जनाएको छ।

























