
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गर्दै जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टो बाटोतिर अघि बढेको उनको टिप्पणी छ ।
काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले समाज उल्टो दिशातर्फ धकेलिएको र संस्कृति तथा सभ्यतामाथि हमला भइरहेको बताए ।
‘जनताप्रति अनुत्तरदायी सरकार छ । खर्बौं रुपैयाँ जम्मा भएको छ, तर त्यो पैसा थन्किएर बसेको छ । पीडितहरू दुःखमा पिल्सिरहेका छन्,’ उनले भने, ‘सरकारले काम गरेको भए समस्या समाधान हुन सक्थ्यो, तर केही पनि भएको छैन । शिक्षा बिग्रँदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदनामा शिशुलाई जन्म दिनुपर्ने अवस्था छ ।’
ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालत पनि चुपचाप बसेको भन्दै असन्तुष्टि जनाए । राज्यका विभिन्न अंग र निकायले आफ्नो काम तथा कर्तव्य पूरा गर्न नसकेको उनको आरोप थियो ।
‘राज्यका अंगहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन् । कारण मैले भनिरहनुपर्दैन, सबैलाई थाहा छ,’ उनले भने, ‘यस्तो स्थितिमा देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ । त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ ।’

























