
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ ।
सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन यसअघिदेखि नै अनुसन्धान जारी छ । सहकारी ठगी र संगठित अपराधसँगै रविविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको हो ।
उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । अनुसन्धानका लागि बिहीबार पुनः ७ दिनको म्याद थप गरिएको छ । दोस्रोपटक म्याद थप गर्न अदालत उपस्थित गराइँदा सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पनि प्रहरीले म्याद लिएको हो ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले रविमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको जानकारी दिए । आफूमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको भार पनि थपिने बुझेपछि रवि बिहीबार इजलासमै आक्रोसित मुद्रामा प्रस्तुत भएका थिए ।
न्यायाधीश चन्द्रकान्त पौडेलले इजलासमै रविलाई ‘अदालत भएकाले चर्को बोल्नु पर्दैन’समेत भनेका थिए । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँ रकम गएको प्रतिवेदन बुझाएको छ ।
उक्त रकम अपचलनमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वसञ्चालक तथा प्रवन्ध निर्देशक रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका पूर्वसञ्चालक छविलाल जोशी र सूर्यदर्शन सहकारीको कोषाध्यक्षसमेत रहेका गोर्खा मिडियाकै सञ्चालक कुमार रम्तेललाई कानुनअनुसार कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।
छविलाल गत असोज ६ गते र रवि गत शुक्रबार (कात्तिक २ गते) पक्राउ परे । दुवै जनामाथि अनुसन्धान जारी छ । कुमार यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । जीबी फरार छन् ।



















