ट्रंकलाइन विवादमा मोरङ व्यापार संघले भन्यो, ‘प्रमाणसहितको बिल ल्याऊ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १०, शनिबार १९:०८

विराटनगर । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा मोरङका उद्योगीले विद्युत उपभोग गरेको यथेष्ठ प्रमाणसहितको बिल पेस गरे बक्यौता तिर्न तयार रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले बक्यौता भुक्तानी नगरेपछि केही उद्योगको लाइन काटेको छ । मोरङका उद्योगी व्यापारीको पुरानो संस्था मोरङ उद्योग व्यापार संघले विद्युत उपभोगको यथेष्ठ प्रमाण ल्याए बक्यौता भुक्तानी गर्ने बताएको हो ।

Advertisement

‘नेपाल विद्युत प्राधिकरणले विगतमा उद्योगहरुमा डेडिकेटेड फिडर र ट्रंकलाइन जडान गरेको तर सम्बन्धित उद्योगहरुलाई सोको उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरुको नाममा बक्यौता रकम देखाएर विद्युत लाइन काटेकोप्रति काटेको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले विज्ञप्तिमार्फत भनेको छ, ‘विवादित विषयमा उद्योगहरुले उपयोग गरेको यथेष्ट प्रमाणसहितको बिल प्राप्त गरे बक्यौता रकम भुक्तानी गरिदिने प्रतिवद्धता जाहेर गरेको व्यहोरा सर्वविदितै छ ।’

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग क्षेत्रमा बारम्बार विद्युत कटौती गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै कटौती भएका उद्योगको लाइन तत्काल जोड्न संघले माग गरेको छ ।

‘उद्योगीहरु प्रताडित हुने एवं उद्योगको लगानी, सोमा आश्रित श्रमिकहरुको रोजगारी तथा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने गर्दछ,’ संघले प्राधिकरणलाई भनेको छ, ‘यस विषयलाई थप जटिल नबनाइ हाललाई काटिएका उद्योगहरुका लाइन तत्कालै जडान गर्न तथा सम्बन्धित निकाय र सरोकारवालाहरु बीच बैठक बसी आवश्यक छलफल गरेर समाधानका उपाय निकाल्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गर्दछौं ।’

उद्योग क्षेत्रको समस्या समाधानका लागि सरकारले गठन गरेको जाँचबुझ आयोग ऐनअन्तर्गत सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित लाल आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न संघले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.