विराटनगर । लामो समयदेखि अध्यक्ष भएर सांसदका छोराले रजाइँ गर्दा झापाको शिवसताक्षी नगरपालिकामा रहेको एउटा सहकारी संकटको भुमरीमा फसेको छ ।
सांसदका छोराले रजाइँ गरिरहँदा बचत फिर्ता नपाएर सहकारीका बचतकर्ताको भने बिल्लीबाठ भएको छ । झापाको क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित नेकपा (एमाले) का सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल अध्यक्ष रहेको शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्था संकटमा परेको हो ।
यो सहकारी सुमनको अग्रसरतामा २०६६ सालमा खुलेको हो । स्थापनाकालदेखि उनी आफैं अध्यक्ष छन् । नक्कली ऋणीसमेत खडा गरेर ऋण लगानी गर्दै सहकारीको रकम हिनामिना गरिएको फेला परेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा रमेश अधिकारीको नाममा १ लाख ९१ हजार ८ सय ४९ रुपैयाँको कर्जा लगानी गरेको देखिन्छ । तर, त्यो ऋण नै नक्कली रहेको नगरपालिकाले गठन गरेको छानबिन समितिले पत्ता लगाएको छ ।
उन्नतिमा सर्वसाधारणले बचत गरेको १ करोड ३८ लाखभन्दा बढी बचत अपचलन भएको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अध्यक्ष खनाल पक्राउ परेका छन् । कात्तिक ५ गतेदेखि उनी प्रहरी हिरासतमा छन् । प्रहरीले सो सहकारीका व्यवस्थापक मित्रलाल भट्टराईलाई समेत सोमबार पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार सहकारीको बचत अपचलनमा अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईको मिलेमतो छ । भट्टराई पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाबाट रकम हिनामिना आरोपमा कारबाहीमा परेका थिए । पूर्व नेपालबाट निकालिएपछि उन्नतिमा पुगेको पाइएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार सहकारीका व्यवस्थापक भट्टराईलाई झिलझिलेबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा ३७ जनाले बचत फिर्ताको मागसहित उजुरी दिएको चन्दले बताए । उजुरी गर्नेको संख्या बढ्दो छ ।
गत वर्ष सहकारीमा ठगी भएको उजुरी परेपछि शिवसताक्षी नगरपालिकाले छानबिन गरेको थियो । छानबिनका क्रममा अध्यक्ष खनालले आर्थिक वर्ष २०७८/०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको देखियो ।
भौचर बिना बचतकर्ताको रकम २ लाख ६ हजार ८ सय ६८ रुपैयाँ अध्यक्षले नै निकाले । बचतको ४२ लाख रूपैयाँ हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो । उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९/०८० मा २ लाख ३६ हजार ८ सय ४० रुपैयाँ निकालेर अध्यक्ष खनालले आफ्नो खातामा हालेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ४९ हजार रुपैयाँ आफैंले चलाएका थिए । लेखापरीक्षण प्रतिवेदनमा संस्थाले लगानी गरेको रकम भन्दा ५ लाख ४९ हजार ५ सय १२ रुपैयाँ बढी देखिएको थियो ।
अध्यक्षले आर्थिक वर्ष २०७८/०७९ सम्म ४४ लाख ३४ हजार १ सय ६७ र आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ३१ हजार ३ सय ८७ रुपैयाँ गरी ६० लाख ६६ हजार १ सय ९६ रूपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘उल्लेखित कैफियतहरुलाई समावेश गर्दा संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३ सय ९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै, आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३ सय ६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार खनालको शेयर खातामा १ लाख १० हजार छ । बचत खातामा थप २३ लाख २२ हजार ५ सय ९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५ सय ९९ रुपैयाँ सहकारीमा देखिन्छ । उनीबाट थप १ करोड ३८ लाख असुल गर्नुपर्ने देखिन्छ ।
छानबिन समितिले प्रतिवेदन दिएपछि २०८० फागुन २४ गते वडा कार्यालयमा अध्यक्ष खनालले २ महिनाभित्र हिसाबकिताब मिलाउने कागज गरेका थिए । तर, उनले समस्या समाधान गर्न चासो नदिएपछि प्रहरीले पक्राउ गरेको हो ।
छोराको बदमासी रहेछ : सांसद खनाल
कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल सहकारीको बचत अपचलनमा आफ्नो छोरा सुमनको बदमासी रहेको बताउँछन् । सहकारीको समस्या समाधानका लागि आफूले पनि पहल गरेको उल्लेख गर्दै उनले सहकारीमा छोरासहित अन्य सञ्चालकले समेत बदमासी गरेको बताएका हुन् ।
राधाकृष्ण सो सहकारीमा आवद्ध छैनन् । ‘त्यो सहकारीमा मेरो छोरा थियो । सधैंभरि बढेका छोराले के गर्छन् ? कसो गर्छन ? त्यो सबै थाहा पनि हुँदैन,’ उनले भने, ‘सहकारीको कुरा उठेपछि हेर्दा अलिअलि बदमासी मेरो छोराको पनि छ ।’
छोराले सहकारी राम्ररी सञ्चालन गरेको भए यस्तो समस्या नआउने उनको भनाइ छ । एकपटक आफूले समस्या समाधन गर्न पहल गरेको भन्दै सांसद खनालले सहकारीमा अन्य व्यक्तिले पनि बदमासी गरेका कारण प्रशासनले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए ।