दूध बेचेर एउटा गाउँले कमायाे ३ करोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १३, मंगलवार १५:२५

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ४ विन्जेलका किसानले दूध बेचेर एक वर्षमा तीन करोड कमाएका छन् । घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँ एकै गाउँका किसानले कमाएका हुन् ।

विन्जेल तल्लागाउँका डिल्लीराम नेपालले गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ आम्दानी गरे । सोही टोलका ताराप्रसाद नेपालले नौ हजार ८९६ लिटर दूध बिक्री गरेर ६ लाख १६ हजार ३२० रुपैयाँ आम्दानी गरे ।

तोयानाथ नेपालले एक वर्षमा ८ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ कमाएका छन् भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर पाँच लाख १३ हजार ७०० रुपैयाँ हात पारेका छन् ।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।

चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार रुपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक १३, मंगलवार १५:२५
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.