विराटनगर । कोशी, मधेस र बागमती प्रदेशका रंग उद्योगका उत्पादनमा अत्यधिक लेड (सिसा) भेटिएको छ ।
नेपाल सरकारले तोकेको मापदण्डभन्दा धेरै सिसा पाइएको हो । जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले सन २०२४ मा तीन प्रदेशका १८ वटा उद्योगका १९ वटा ब्राण्डको नमुना संकलन गरेर परीक्षण गरेको थियो ।
२० वटा नमुना संकलन गरेर परीक्षण गर्दा ९ वटा ब्राण्डमा नेपाल सरकारले तोकेको भन्दा बढी सिसा पाइएको हो । नेपाल सरकारले पेन्ट्समा ९० पीपीएम र कस्मेटिक्समा १० पीपीएम मापदण्ड तोकेको छ । तर, ९ वटा ब्राण्डमा सरकारले तोकेको मापदण्डभन्दा बढी सिसा भेटिएको छ ।
विराटनगरको मारुती पेन्ट्सको पहेँलो रंगमा ६४ हजार २ सय ६७ दशमलव पीपीएम पाइएको छ । हुनुपर्नेभन्दा ७ सय १४ दशमलव ८ गुणा बढी पीपीएम पाइएको छ ।
त्यस्तै, सोही पेन्ट्सको रातो रंगको नमुना संकलन गरी परीक्षण गर्दा २९ हजार ४ सय ४० दशमलव ५ पीपीएम पाइएको छ । जुन आवश्यकताभन्दा ३ सय २७ दशमलव १२ गुणा बढी हो ।
श्री गणपति पेन्ट्स उद्योग काठमाडौको पहेँलो रंगमा १ लाख ६ हजार ७ सय ३२ दशमलव ७ पीपीएम पाइएको छ । जुन १ हजार १ सय ८५ दशमलव ९१ ले बढी हो ।
टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा. लि चितवनको रातो रंगमा १ लाख २१ हजार ७१ दशमलव ८ पीपीएम पाइएको छ । जुन तोकिएको भन्दा १ हजार ३ सय ४५ दशमलव २३ पीपीएम बढी हो ।
इम्पेरियो पेन्ट्स काठमाडौंको मारभेल ब्राण्डको चक्लेट रंगमा ९५ दशमलव ४८ पीपीएम भेटियो । जुन तोकिएको भन्दा १ दशमलव ६ ले बढी हो ।
कम्पनीको सिनर्जी ब्राण्डको पहेँलो रंगमा २ लाख १३ हजार ८ सय ८१ दशमलव ७५ पीपीएम पाइएको थियो । त्यो मापदण्ड भन्दा २ हजार ३ सय ७६ दशमलव ४६ ले धेरै हो ।
डिजिटल पेन्ट्स इटहरीको चकलेट रंगमा ९९ दशमलव पाइएको छ । पीपीएम भेटिएको थियो । तोकिएको भन्दा १ दशमलव १० पीपीएम बढी सिसा रहेको पाइएको हो ।
वीरगन्जको डालमिया पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिजमा डालमिया पेन्टस्को ‘प्रो रेड’मा १८ हजार ७ सय १६ दशमलव २२ पीपीएम सिसा भेटिएको छ । मापदण्ड भन्दा २ सय ७ दशमलब ९६ ले बढी पाइएको हो ।
विराटनगरमा बुधबार भएको लेड (सिसा)बाट बचावटका लागि गरिएको सचेतना सप्ताह कार्यक्रममा उक्त विवरण सार्वजनीक गरिएको हो । उद्योगको उत्पादनमा अत्यधिक सिसाको प्रयोगले जनस्वास्थ्यमा नराम्रो असर पुगिरहेको कार्यक्रमका सहभागीले बताएका छन् ।
सबैभन्दा बढी बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको जानकारी कार्यक्रममा दिइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डाक्टर टंक बाराकोटीले लेड (सिसा) को सम्पर्कमा आएका बालबालिकाको पढ्ने लेख्ने क्षमता घट्ने, आनीबानी तथा हाउभाउमा परिवर्तन आउने बताए ।
सिसाका कारण स्नायु प्रणालीदेखि प्रजनन् प्रणालीमा गडबडी आउने, मानसिक सन्तुलन बिग्रने भन्दै उनले घर, विद्यालय, फर्निचर, खेलमैदान तथा अन्य भौतिक सामग्री रंगाउने रंगहरुमा सिसाको प्रयोग धेरै हुने गरेको जानकारी दिए । उद्योगका उत्पादनमा सिसाको मात्रालाई न्यूनीकरण गर्दै लैजानुपर्ने डा. बाराकोटीले बताए । उनले वयस्कमा पनि सिसाको प्रयोग बढी भएमा मुटु, कलेजोलगायतका अंगहरुमा समस्या निम्तिने बताए ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले नेपाली घर, फर्निचर, स्कुल, खेलमैदान आदि रंगाउने पेन्ट्स, हरेक भान्सामा व्यापक रुपमा प्रयोग हुने बेसारजस्ता मसला तथा अन्य दैनिक उपभोग्य वस्तुहरू कस्मेटिक्स, चाउचाउ, आयुर्वेदिक औषधि, कृत्रिम गहनामा सिसाको प्रयोग बढी हुने गरेको बताए ।
सिसाको स्रोतलाई कम गर्न वा उन्मूलन गर्न सम्बन्धित निकायले नियमित बजार अनुगमन गर्गुपर्नेमा उनको जोड छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरु, सरोकारवाला निकायका प्रतिनिधिलगायतको सहभागिता थियो ।