बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन हुने

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १८:४१

विराटनगर । विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा बहिरा बालबालिकालाई दक्ष र सिपयुक्त बनाउन प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नु पर्नेमा सरोकारवालाहरुले जोड दिए ।

विद्यालयमा आगामी शैक्षिक सत्रदेखि होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोग हुनु आवश्यक रहेको उनीहरुको भनाइ थियो । महानगरका मेयर कोइरालाले विगतमा इन्जिनियरिङ पठनपाठन गर्ने योजना कार्यान्वयन नभएको उल्लेख गरे ।

उनले होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने योजनालाई कार्यान्वयन गर्न महानगरपालिका तयार रहेको प्रस्ट परेका थिए ।
मेयर कोइरालाले विगतमा इन्जिनियरिङ पठनपाठन गराउने योजनाजस्तै होटल व्यवस्थापन पनि योजनामै सीमित नहोस् भन्ने सचेत गराए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बीएसएन विद्यालयका संस्थापक मनोज राजवंशीले होटल व्यवस्थापन कार्यक्रमका अवसर र चुनौतीका विषयमा प्रकाश पारे ।

छलफलमा सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्री, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, राष्ट्रिय बहिरा महासंघका महासचिव सीताराम ओझा, महासंघका कोशी अध्यक्ष नविन ढुंगेल, आयोजक विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीलगायतले बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.