
जनकपुर । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय रामजतन यादव मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादव पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेख गर्न बसेका थिए । उनी सोमबार बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनास्थलनजिकै पोखरीको पानीमा पराल काट्ने दाउ पनि फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

























