विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १८:१९

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले सवारीमा चालक आफैंले आफ्नो अल्कोहल (रक्सी)टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन् ।

पोलिटेक्निकको डिप्लोमा मेकानिकलतर्फका तेस्रो वर्षका विद्यार्थीले ६ महिना लगाएर कुनै पनि सवारीमा जडान गरेर चालकले कति प्रतिशत रक्सी खाएको छ र चलाउन सक्ने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन् ।

विद्यार्थीहरुका अनुसार उपकरणलाई स्तरोन्नति गरेर कार, बाईक, बस, ट्रक जुनसुकै सवारीको इन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशतभन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त उपकरणले तत्काल संकेत दिन्छ ।

जसले ‘तिमिले धेरै रक्सी खाएका छौ, यसैले सवारी चलाउन योग्य छैनौं’ भन्ने सन्देश दिन्छ । यसैले यो उपकरणले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने पोलिटेक्निकका इन्जिनियर तथा शिक्षक दीपेन्द्र यादवले बताए ।

उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका विद्यार्थीहरुले विभिन्न ५ वटा अविष्कारहरु गरेका छन् ।

गियरवाला विद्युत्तीय मोटरसाइकल पनि बनाए

यसैगरी, मनमोहन पोलिटेक्निककै इन्जिनियरिङतर्फका विद्यार्थीहरुले गियरवाला विद्युत्तीय मोटरसाइकल पनि निर्माण गरेका छन् ।

विद्यार्थीहरुका अनुसार हाल बजारमा सञ्चालन भइरहेका इलेक्ट्रिक मोटरसाइकलहरुमा गियरको प्रबन्ध छैन । यो प्रविधिलाई स्तरोन्नति गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सक्ने शिक्षक तथा इन्जिनियर रामकुमार यादवले जानकारी दिए ।

यादवका अनुसार चालु वर्ष इन्जिनियरिङतर्फका विद्यार्थीले ५ वटा र इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्रीव्यल चेयर, हाइड्रो पावर, ट्रान्सफरमर इलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार, अल्कोहल टेष्ट डिभाइस, गियरवाला इलेक्ट्रिक मोटरसाइकल अविष्कारहरु प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले गरेको अविष्कारको प्रदर्शन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, रजिष्टार डा. दिलनाथ फुयाल, उद्योगी सोम घिमिरे, सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीलगायतले अवलोकन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.