
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत भारत निर्यात गरेको छ ।
चालू आर्थिक वर्ष २०८१–८२ को साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा १३ अर्ब ४ करोड बराबरको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।
भारतमा औसत प्रतियुनिट ७ रुपैयाँ ३९ पैसामा विद्युत विक्री भएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा हरियाणा र बिहार राज्यमा बिक्री गर्छ । सुख्खा माैसम सुरु भएका कारण पछिल्लाे समय माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ ।
प्राधिकरणले साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत निर्यात गरेको थियो । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड र मङ्सिरमा २८ करोड १४ लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको हो ।
चालू आर्थिक वर्ष ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने प्राधिकरणको लक्ष्य थियाे ।

























