
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ ।
नेपालका २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले पुस २८ गते छैटौँ वार्षिक साधारणसभा बोलाएको हो ।
साधारणसभा मोरङको कटहरी गाउँपालिका– २ स्थित संस्थाको केन्द्रीय कार्यालयमा हुनेछ ।
बिहान साढे १० बजे सुरु हुने साधारणसभामा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०८०–८१ को वासलात र नगद प्रवाहका विषयमा पनि छलफल हुनेछ ।
१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९ सय चुक्ता पूँजी रहेको जीवन विकासले गत आर्थिक वर्षको मुनाफाबाट १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ बराबरको १४ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । बोनस वितरण पश्चात जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ हुनेछ ।
साधारणसभामा ४ जना सञ्चालक छनोटका लागि निर्वाचन पनि हुनेछ । चार जना सदस्य संस्थापक समूहको तर्फबाट निर्वाचित हुनेछन् ।
साधारणसभामा अन्य लघुवित्त संस्थासँग मर्जर अथवा वा प्राप्ति सम्बन्धि कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ । प्रस्ताव पास भएपछि मर्जर तथा प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।
साधारणसभाको प्रयोजनका लागि लघुवित्तले पुस १६ गते बुक क्लोजको मिति तोकेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्त वित्तीय संस्थामा ३ लाख ४० हजार ७९६ सक्रिय सदस्य छन् ।
लघुवित्तले १ लाख ९८ हजार ५७० सदस्यलाई २७ अर्ब ३ ऋण लगानी गरेको छ । सदस्यहरूले १० अर्ब ८२ करोड बचत गरेका छन् । २४ जिल्ला कार्यक्षेत्र रहेको जीवन विकासमा ९८४ कर्मचारी छन् ।

























