
विराटनगर । सहकारी ठगीमा श्रीमान फरार भएपछि सुनसरी प्रहरीले श्रीमतीहरूलाई हिरासतमा लिएको छ । कानुन व्यवसायी भन्छन्, ‘यो न्यायको सिद्धान्त विपरित हो ।’
सुनसरीको धरानमा स्थापना भएको बराह ग्रुप अफ कम्पनीका सञ्चालकले खोलेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिडेटको बचत अपचलन आरोपमा अध्यक्ष मानबहादुर विश्वकर्मा र सञ्चालक गंगाबहादुर कालिकोटे फरार छन् । उनीहरू फरार भएपछि प्रहरीले श्रीमतीहरूलाई हिरासतमा राखेको हो ।
बराह सहकारीको अध्यक्ष विश्वकर्मा र कालिकोटेको खोजीमा प्रहरी थियो । घरमा उनीहरूलाई नभेटेपछि मानबहादुरकी श्रमती जतनमाया विश्वकर्मा र कालिकोटेकी श्रीमती सरितालाई पक्राउ गरेको हो । प्रहरीले पुस १३ गते उनीहरूलाई पक्राउ गरेको थियो । पुस १४ गते मात्रै पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोत बताउँछ ।
रिटको पक्षमा बहस गरेका कानून व्यवसायी लीलानाथ सुवेदीका अनुसार श्रीमानले गरेको कसुरमा श्रीमतीलाई थुनामा राख्नु न्यायोचित होइन ।
प्रहरी स्रोतका अनुसार सहकारी ठगीमा दुई महिलाको संलग्नता देखिएको छैन । तर, श्रीमान नभेटिएपछि श्रीमती हिरासतमा परेका छन् । दुई महिलाको पक्षबाट धरान उपमहानगरपालिका–१७ का पवन विश्वकर्माले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
पुस १६ गते परेको उक्त रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र कृपासुर कार्कीको संयुक्त इजलासले पुस १९ गते रिट खारेज गरेको थियो । रिटको पक्षमा बहस गरेका कानून व्यवसायी लीलानाथ सुवेदीका अनुसार श्रीमानले गरेको कसुरमा श्रीमतीलाई थुनामा राख्नु न्यायोचित होइन । तर, प्रहरीले म्याद थप गरी हिरासतमा राखेको उनले बताए ।
श्रीमानले गरेको कसुरकै आधारमा श्रीमतीलाई पक्राउ गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको कानुन व्यावसायीहरू बताउँछन् । सुनसरी प्रहरी प्रवक्ता रामप्रसाद तिम्सीना पनि दुई महिलाको संलग्नताका विषय खुलिनसकेको बताउँछन् । यद्धपी पीडितले दिएको जाहेरीमा नाम रहेका कारण प्रकाउ परेका हुन् । दुई सञ्चालकका श्रीमतीसहित पक्राउ परेका ९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए ।
जाहेरवालाको संख्या ६५४ छ । उजुरी आउने क्रम जारी छ । दर्ता भएको जाहेरीमा १ अर्ब १८ करोड ३६ लाख ११० रुपैयाँ बराबरको बिगो दाबी भएको छ ।
‘अनाधिकृत मान्छे थुन्नुपर्छ भन्ने होइन, तर जाहेरीमा नाम भएकाले पक्राउ गरिएको हो,’ उनले भने, ‘उनीहरूलाई थुनामा राख्नुपर्ने अवस्था देखिएन भने जमानीमा छोड्न सकिन्छ, केही खुल्न सक्छ भन्ने दृष्टीकोणबाट विश्लेषण गरिरहेका छौं, अनुसन्धान भइरहेको छ ।’ केही नखुले अनुसन्धान अधिकारीको अनुमति लिएर छाड्न सकिने उनको भनाई छ ।
उनका अनुसार सहकारीबाट ठगिएको भन्दै ६२ वटा जाहेरी दर्ता भएको छ । जसमा जाहेरवालाको संख्या ६५४ छ । उजुरी आउने क्रम जारी छ । दर्ता भएको जाहेरीमा १ अर्ब १८ करोड ३६ लाख ११० रुपैयाँ बराबरको बिगो दाबी भएको छ । सहकारी ठगी प्रकरणको प्रहरीले चार्टर एकाउन्टेन्ट विज्ञसहितको टोली झिकाएर अनुसन्धान गरिरहेको छ ।
यसरी खोलिएको थियो सहकारी
भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मां)ले २०५२ सालमा धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज खोलेका थिए ।
बराह ज्वेलरी इन्टरप्राइजेज विस्तार गर्दै बराह ग्रुप अफ कम्पनी खोलिएको थियो । यो कम्पनीमा धरानकै कांग्रेसका प्रभावशाली नेता र माओवादी केन्द्रका नेताको नाम पनि जोडिएको थियो ।
बराह ग्रुप अफ कम्पनी मातहत २८ भन्दा बढी कम्पनी छन् । ती कम्पनीले देशभरबाट १४ अर्ब भन्दा बढी रकम ठगी गरेको छ । धरानका मात्रै सर्वसाधारणको ९ अर्ब हाराहारी अपचलन भएको प्रहरी स्रोत बताउँछ । बराह ज्वेलरी इन्टरप्राइजेजका संस्थापक इन्द्र लामिछाने(विश्वकर्मा) भने २०६९ सालको माघमा हङकङमा झुण्डीएको अवस्थामा मृत भेटिएका थिए ।
बराह ग्रुपको अध्यक्ष शिव लामिछाने(विश्वकर्मा) हुन् । उनी इन्द्रका छोरा हुन् । ठगी आरोपमा उनी पनि फरार छन् । लामिछाने अध्यक्ष रहेको काठमाडौंको अभिमत बचत तथा ऋण सहकारी संस्था पनि संकटमा छ ।
धरानका १३ हजार ५७८ जना साधारण बचतकर्ताले ५ हजारदेखि एक करोडसम्म बचत गरेका छन् ।
लामिछाने परिवारका सदस्यले धरानमा सञ्चालन बराह बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले ६८ करोड ८३ लाख १० हजार ८१६ रुपैयाँ बचत गरेको हिसाब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानविन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए । तर प्रहरीमा परेको जाहेरीका आधारमा दुरुपयोग भएको बचतको संख्या बढ्ने देखिन्छ ।
सुन पसलमा बचत तथा ऋणको कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । संसदीय छानविन समितिमा पेश गरेको विवरण अनुसार गत जेठसम्म ६८ करोड ८३ लाख १० हजार ८१६ रुपैयाँ बचत संकलन भएको थियो ।
धरानका १३ हजार ५७८ जना साधारण बचतकर्ताले ५ हजारदेखि एक करोडसम्म बचत गरेका छन् । सहकारीको ऋण लगानी ७१ करोड ५८ लाख ६४ हजार ५३७ रुपैयाँ देखाइएको थियो । ऋण लगानी मध्ये ४१ करोड ३ लाख भन्दा बढी नियम विपरित रकम आफ्नै कम्पनीमा लगानी भएको छ ।
बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालीमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपाटमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टी प्रपोज प्रालीमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशु पालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३८२, बराह भेडेटार मल्टी प्रपोज प्रालीमा थप २८ लाख २५ हजार २३८ रुपैयाँ लगानी भएको छ । अन्य रकम पनि सोही ग्रुप र ग्रुपका सदस्यले प्रयोग गरेका थिए ।
बराह ग्रुपले धरानमा बराह ज्वेलरी प्राली, बराह फेमली किचेन, बराह डिपाटमेन्ट स्टोर, बराह भेडेटार मल्टी प्रपोज प्राली, बराह कृषि उपज तथा पशु पालन प्रालि, कृपा दृश्य डिजिटल प्रोडक्सन प्रालि खोलेका थिए ।
धरान बाहिर इन्द्र बराह ट्राभल्स एण्ड टुर्श प्रालि काठमाडौ, नारायण बराह ज्वेलरी इण्ड्रष्टिज प्रालि भरतपुर चितवन, गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्टिज प्रालि पोखरा, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि काठमाडौ, बराह प्रपटी सर्भिेसस प्राली काठमाडौं, बराह नेशनल इन्भेष्टमेन्ट प्रालि काठमाडौंलगायत २८ वटा कम्पनी खुलेको छ । दुबईमा अल बराह मिनी मार्केट एलएलसी, हङकङमा इन्द्र बराह ज्वेलरी पनि खोलेका थिए ।

























