यामबहादुर रोका : न्युरोका प्रभावशाली डाक्टर, जसले छाड्दैछन् विराटनगर

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ माघ १६, बुधबार १९:५४

विराटनगर । बागलुङमा जन्मिएका चर्चित न्युरो सर्जन ५२ वर्षीय यामबहादुर रोका चिकित्सकीय सेवाका क्रममा २४ वर्षअघि पूर्व आए ।

केही वर्ष सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरे । विगत १५ वर्षदेखि विराटनगरको न्युरो अस्पतालमा कार्यरत थिए । डा. उपेन्द्र देवकोटाको टिममा रहेर काठमाडौंको वीर अस्पतालमा पनि काम गरेको अनुभव उनीसँग छ ।

Advertisement

विराटनगरमा बसेर पूर्व क्षेत्रमै न्युरो सर्जरी सेवा विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेका उनै वरिष्ठ न्युरो सर्जन प्रोफेसर डाक्टर यामबहादुर रोकाले अब भने विराटनगर छाड्ने भएका छन् । डा. रोका बिरामीको रोजाइमा पर्ने न्युरो सर्जरी सेवाका प्रभावशाली एवं विज्ञ चिकित्सक हुन् । जसले पूर्व क्षेत्रमा आफ्नो ‘ब्राण्ड’ स्थापित गराउन सफल भए ।

नसा सम्बन्धी समस्या भएका कैयौं बिरामीले उनीबाट सेवा पाएका छन् । उनले नसा र टाउकोको जटिल शल्यक्रिया गरेर बिरामीलाई बचाएका कैयौं उदाहरण छन् । उपचारका लागि न्युरो अस्पताल पुग्ने बिरामीले प्राय उनीबाटै सेवा लिन चाहन्थे । विराटनगर बसेर चिकित्सकीय क्षेत्रमा लामो समयसम्म प्रभावकारी हिसाबले योगदान दिएका डा. रोकाले अब भने आफ्नै गृहप्रदेश गण्डकी गएर सेवा दिने छन् ।

नसा तथा टाउकोसँग सम्बन्धित जटिल शल्यक्रियामा सफल मानिएका प्रभावशाली डा. रोका अब पोखराको गण्डकी मेडिकल कलेजमा न्युरो सर्जरीको प्रोफेसरका रूपमा रहने छन् । उनी हाल नेपाल न्युरो सर्जरी समाजको अध्यक्ष हुन् । काठमाडौं बाहिर पहिलोपटक न्युरो सर्जरी सेवा विस्तार गर्न विशेष योगदान दिने चिकित्सकमा डा. रोकाको नाम आउँछ ।

 

स्वास्थ्य क्षेत्रका अगुवाहरु रोकालाई जीवनको महत्वपूर्ण उमेरमा चिकित्सकीय सेवामा विशिष्ट र अतुलनीय योगदान पुर्याएका डाक्टर भनेर चिन्छन् । पूर्व क्षेत्र (हालको कोशी प्रदेश)मा नसा र टाउकोको उपचार नै सम्भव नभएको अवस्थामा उनले महत्वपूर्ण योगदान पुर्याएका हुन् । उनकै सक्रियता र लगावका कारण उपचार गराउन काठमाडौं तथा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको थियो ।

डा. रोकाको उपस्थितिसँगै विराटनगरमा सहज सेवा उपलब्ध हुन थाल्यो । विशेषज्ञ चिकित्सकको हिसाबमा उनले गरेको योगदानका कारण सर्वसाधारणले आफ्नै ठाउँमा सहज उपचार पाए । ‘म पूर्व आउँदा नसा र टाउकोको समस्या भएका सबै बिरामी काठमाडौं र भारत जानुपर्ने बाध्यता थियो । सेवा राम्रो थिएन,’ मुलुकी खबरसँग कुरा गर्दै डा. रोकाले भने, ‘मैले पहिलोपटक न्युरो सर्जरी सेवा सुरु गर्न निक्कै मिहिनेत गर्नु परेको थियो । अहिले त्यस्तो समस्या छैन ।’

अहिले विराटनगरमा न्युरो सर्जरीका लागि चिकित्सकदेखि उपकरण सबैको सुविधा रहेको उनले बताए । ‘अहिले चिकित्सक पनि पर्याप्त हुनुहुन्छ । उपकरण पनि अत्याधुनिक छन् । प्रभावकारी सेवा पाइन्छ । उपचारका लागि बिरामीले बाहिर जानु पर्दैन । आवश्यक सेवा विराटनगरसहित पूर्वका ठूला अस्पतालले दिन सक्छन् । अहिले त बाहिर (भारतका विभिन्न स्थान)बाट पनि उपचारका लागि विराटनगर आउँछन्,’ उनले भने ।

डेढ दशक अघिसम्म पूर्वका अस्पतालमा टाउकोका समस्यादेखि नशा फुटेको, च्यापिएको र ढाड भाँचिएको लगायतका बिरामीले राम्रो सेवा पाउँदैन थिए । तर, सेवा विस्तार भएर अहिले बाहिरका बिरामी पनि उपचारका लागि आउने गरेको डा. रोकाले बताए । उनले विराटनगर पछिल्लो समय ‘मेडिकल टुरिजमको हब’ बनेको बताए ।

‘विराटनगर बसेको लामो समय भएको थियो । अब आफ्नै गाउँ घरतिर सेवा गर्नुपर्छ भन्ने लाग्यो । त्यही भएर विराटनगरबाट बिदा लिँदैछु । सम्भव भयो भने बिहीबार, नत्र १–२ दिनमा विराटनगर छाड्छु,’ उनले भने । पूर्व बसाइका क्रममा सहयोग गर्ने मेडिकल टिम, अस्पताल, बिरामीदेखि सबैलाई डा. रोकाले धन्यवाद दिए ।

उनी भारतको बनारस हिन्दु विश्वविद्यालयबाट एमबीबीएस तथा भारतबाटै मास्टर्स एन्ड सर्जरी (एमएस) अध्ययन गरेर नेपाल आएका हुन् । अध्ययनका लागि उनी सिंगापुरसमेत पुगे । विभिन्न मुलुकमा गएर अध्ययन, तालिम र गोष्ठीमा सहभागी भई अनुभव बटुले ।

न्युरो सर्जरीको क्षेत्रमा कोशी प्रदेशलाई ठूलो गुन लगाएका चर्चित न्युरो सर्जन डा. रोकाको सुरक्षाका लागि यसअघि मोरङ प्रशासनले अंगरक्षकका रूपमा प्रहरीसमेत खटाएको थियो । सुरक्षा चुनौतीलाई मध्यनजर गरेर एक जना प्रहरी ढुक्कै उनको सुरक्षामा खट्थे ।

डा. रोकाकी पत्नी नारायणी रोका पनि नेत्ररोग विशेष हुन् । डा. नारायणी सुरुमा विराटनगरकै गोल्छा आँखा अस्पतालमा काम गर्थिन् । त्यसपछि विराटनगरको न्युरो अस्पताल हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा काम गरिन् । अहिले पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत छिन् ।

न्युरो सर्जरी सेवा नेपालमै र नेपालमा पनि पूर्वमै सम्भव छ भनेर स्थापित गराएका डा. रोकालाई विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले संयुक्त रूपमा बुधबार विशेष सम्मान गरेका छन् । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ र अस्पतालका सञ्चालक एवं अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा कदरपत्रसहित उनलाई सम्मान गरेका हुन् ।

सम्मान लिनलाई डा. रोका आफ्नी पत्नी डा. नारायणीसहित उपस्थित भएका थिए । प्रदेश प्रमुख खापुङले पूर्वमा न्युरो सर्जरी सेवामा विशेष योगदान दिएको भन्दै डा. रोकाको प्रशंसा गरे । विशेष धन्यवाद दिँदै डा. रोकाप्रति आभार व्यक्त गरे ।

‘जीवनको महत्वपूर्ण उमेरमा कोशी प्रदेशलाई ठूलो योगदान दिनु भयो । अब गण्डकी प्रदेशका जनतालाई पनि त्यसरी नै सेवा दिनुस् । बिरामीले तपाईंबाट राम्रो उपचार पाउन् । त्यहाँका नेपालीका लागि सेवा गर्नुस् । तपाईंलाई शुभकामना छ,’ खापुङले भने ।

अस्पतालका अध्यक्ष डा. कार्कीले डा. रोकासँगै काम गर्ने आफ्नो इच्छा अहिलेसम्म पूरा नभएको बताए । ‘उहाँ (डा. रोका)ले विशिष्ट सेवा दिएर स्वास्थ्य क्षेत्रमा ठूलो पुण्यको काम गर्नु भयो । मिहिनेत र योगदानको उच्च कदर गर्दै हामीले उहाँलाई सम्मान गरेका हौं । डा. रोकाको नाम धेरैतिर लिन्छन् । विराटनगर छाडेपनि देशकै लागि कर्म र सेवा गर्नुस् । अझै प्रगति र सुखशान्तिको कामना छ,’ डा. कार्कीले भने ।

डा. रोकाले पूर्वमा योगदान दिएर चिकित्सकीय क्षेत्रमा हौसला प्रदान गरेको डा. कार्कीको भनाइ छ । डा. यामबहादुर रोका स्वास्थ्य क्षेत्रमा बिर्सिन नसकिने नाम रहेको उनले बताए । कुनै एक विशेषज्ञ चिकित्सकले यति धेरै योगदान दिनु चानचुने कुरा नभएको डा. कार्की बताउँछन् ।

विराट शिक्षण अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख डा. सुनील मुना कोमी डा. रोकाको योगदानलाई पूर्व क्षेत्रले महत्वपूर्ण मान्नुपर्ने बताउँछन् । बिरामी काठमाडौं वा भारत जानुपर्ने बाध्यता रहेका बेला विराटनगरमा सीमित स्रोत र साधनसहित सेवा दिने साहस देखाएको भन्दै उनले डा. रोकाको प्रशंसा गरे । ‘उहाँ डाक्टरहरुको पनि आदर्श हो । न्युरो सम्बन्धी खोज, अध्ययन एवं अनुसन्धानमा उहाँले सबैलाई बाटो देखाउनु भएको छ,’ डा. कोमीले भने ।

चिकित्सकहरु डा. रोका कुशल चिकित्सक एवं चिकित्सकीय क्षेत्रका अभिभावक रहेको बताउँछन् । उनको योगदानको जति व्याख्या गरे पनि कम हुने उनीहरुको भनाइ छ । डा. रोकाले फरक र सकारात्मक भूमिका निर्वाह गर्दा पूर्वमा न्युरो सर्जरी सेवा विस्तारमा महत्वपूर्ण योगदान पुगेको चिकित्सकहरुको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले डा. रोकालाई आफ्नो ठाउँमा गएर त्यहाँका जनतालाई सहज सेवा उपलब्ध गराउन आग्रह गरे । विशिष्ट योगदानका कारण पूर्वले सधैं डा. रोकालाई सम्झिरहने उनको भनाइ छ ।

सम्मान कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमिरिया, चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीलगायतकोे उपस्थिति थियो ।

 

 

 

clockप्रकाशित मिति:  २०८१ माघ १६, बुधबार १९:५४
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.