
भोजपुर । सामान्य बिरामी पर्दासमेत उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता झेल्दै आएका भोजपुरको पौवादुङमा गाउँपालिका–४ वास्तिमका स्थानीयवासीले अब गाउँमै आधारभूतदेखि विशेषज्ञ स्वास्थ्य सेवा पाउन थालेका छन् । मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच सहज बनेको हो।
संघीय सरकारको प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने नीतिअनुसार ४ करोड ८० लाखको लागतमा अस्पतालको डेढ तले भवन निर्माण गरिएको हो। पूर्वाधार निर्माण सम्पन्न भएसँगै अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि टाढा जानुपर्ने स्थानीयवासीको बाध्यता घट्दै गएको छ।
गाउँपालिका अध्यक्ष किरण राईले सामान्य उपचारका लागि समेत घण्टौँ यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । दुर्गम क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकता दिएको उनको भनाइ छ।
अस्पताल सञ्चालनले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको बताइएको छ । स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा जोड दिइएको छ ।
अस्पतालबाट आकस्मिक तथा बहिरंग सेवा, प्रयोगशाला परीक्षण, गर्भवतीका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन् । गाउँघर क्लिनिकमार्फत पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आएको अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवले बताए।
उनका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले स्वास्थ्य सेवा लिइरहेका छन्। स्थानीय स्तरमै उपचारको सुविधा विस्तार भएपछि सामान्य स्वास्थ्य समस्याका लागि समेत सदरमुकाम वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यता कम हुँदै गएको छ।

























