
विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै शिक्षासेवी पोखरेललाई सम्मान गरेको हो । कार्यक्रममा कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
सम्मानित पोखरेल त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा ३८ वर्षभन्दा लामो समय प्राध्यापन गरेका थिए । पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्षका रुपमा समेत कार्य गरिसकेका छन् ।
सोही अवसरमा कलेजमा १५ वर्षदेखि कार्यरत भरत साहलाई पनि सम्मान गरिएको थियो । साहलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपकुलपति प्रा.डा. थपलियाले सम्मान गरे ।
सो अवसरमा बीबीए र एमबीए अध्ययन पूरा गरेर जाने विद्यार्थीको बिदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो ।
त्यस्तै २०८१ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले बताए । विद्यार्थीहरूले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उपकुलपति प्रा.डा. थपलिया, विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डिन डा. सन्देशदास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष चौधरी, क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक सन्दीपदास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे । सो कलेजमा ३ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

























