
विराटनगर । विराटनगर–७ मा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूलाई सीप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडि बढनुनपर्ने बताए ।
उनले व्यवहारिक शिक्षासँगै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको खाँचो रहेको र प्रविधिको विकाससँगै आजको आवश्यक रोजगारमुखी शिक्षा भएको बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष केशवलालसिंह सुवालले स्थापनाकालदेखि ग्रेडेड स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरेर देशका लागि योग्य जनशक्ति उत्पादन गरेर अघि बढेको बताए ।
त्यसैगरी, विद्यालयका प्रिन्सिपल प्रेमलालसिंह सुवालले गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाँकी नराखेको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यालय अगाडि रहेको जानकारी गराए ।
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले विद्यार्थीहरूलाई भयरहित वातावरणमा सीप र संस्कारसहित रोजगारमुखी शिक्षा प्रदान गरेर अघि बढनुपर्ने बताए ।
कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, नगर अध्यक्ष अर्जुन श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपल तथा अभिभावकलगायतको उपस्थिति थियो ।
सोही अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले विज्ञान प्रदर्शनीसमेत गरेका थिए ।

























