पोखरिया प्रथम

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार १४:१५

विराटनगर । विराटनगरमा आयोजित महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा पोखरिया प्रथम भएको छ ।

विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले प्रतियोगिता आयोजना गरेको हो । विद्यार्थीहरूको बौद्धिकसहित चौतर्फी व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ३२ वटा विद्यालयलाई पछि पार्दै आयोजक पोखरिया प्रथम भएको छ ।

आधारभूत तह (कक्षा ६–८)अन्तर्गत भएको प्रतियोगितामा मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण मावि तृतीय र बाल मावि रानीले सान्त्वना स्थान प्राप्त गरे । विजेता विद्यालयलाई क्रमशः २१, १५, १२ र ६ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि नागेश कोइरालाले गरेका थिए । कोइरालाले विद्यार्थीको बौद्धिक विकासमा हाजिरजवाफ प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विद्यार्थीलाई पाठ्यक्रमको अध्ययनसँगै बाहिरी ज्ञान हासिल गर्न उनले आग्रहसमेत गरेका छन् । उनले प्रविधिमैत्री र सीपमूलक शिक्षालाई महानगरले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिए ।

त्यस्तै, महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, पोखरिया माविका प्रधानाध्पापक खेमराज भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिता मंगलबार र बुधबार महानगरभित्र सञ्चालित आधारभूत तह (कक्षा ६–८) का ३२ वटा विद्यालयको सहभागिता रहेको थियो । त्यस्तै, प्राथमिक तह कक्षा १–५ अन्तर्गत सामुदायिक र संस्थागत १६ विद्यालयबीच पनि प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा ग्रीनल्याण्ड इङ्लिस स्कुल प्रथम, अर्पण इङ्लिस स्कुल द्वितीय एभरेष्ट इङ्लिस स्कुल तृतीय र बाल मन्दिर विद्या मन्दिर सान्त्वना भएको आयोजक विद्यालयका प्रअ भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.