
काठमाडौं । शिक्षा ऐन तत्काल जारी हुनुपर्नेलगायतका माग राखेर सुरु भएको शिक्षकहरुको आन्दोलनले नयाँ मोड लिएको छ ।
काठमाडौंमा जारी आन्दोलन अब वार्तातिर मोडिएको हो । सरकारसँग वार्ता र संवादको ढोका खुलै राखेको शिक्षक महासंघले आन्दोलनको रफ्तार भने घट्न नदिने स्पष्ट पारेको छ । संवाद र संघर्ष सँगसँगै लैजाने अडान महासंघको छ ।
शिक्षा मन्त्रालयले बुधबार महासंघलाई वार्तामा बोलाएको थियो । मन्त्रालयको उक्त आह्वानलाई महासंघले सकारात्मक रूपमा लिएको छ । सरकार र महासंघबीच बिहीबार छलफल हुने भएको छ । यद्यपि समय र स्थान भने २ पक्षको सहमतिमा छिट्टै टुंगो लाग्ने बताइएको छ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले संवादका लागि ढोका सधैँ खुला रहेको बताइन् । तर, केवल आश्वासनको खेती गर्न बसेको वार्ता आफूहरुलाई मान्य नहुने उनको भनाइ छ । शिक्षा ऐन जारी गर्ने ठोस आधार र प्रतिबद्धता आवश्यक रहेको पराजुलीको भनाइ छ ।
महासंघले ३ विकल्प राखेर तत्काल ऐन ल्याउन सरकारलाई दबाब दिइरहेको छ । ऐन जारी गर्न संसदको विशेष अधिवेशन बोलाउनुपर्ने, बर्खे अधिवेशन छिटो बोलाउनुपर्ने वा अध्यादेशमार्फत जारी गर्नुपर्नेमध्ये एउटा विकल्प अपनाउन महासंघले सरकारलाई दबाब दिइरहेको हो ।
संवादको तयारी भइरहे पनि महासंघको आन्दोलन रोकिएको छैन । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पेसागत आन्दोलनलाई आत्मसात गर्दै अघि बढ्ने बताए । सरकारको गलत प्रवृत्तिविरुद्ध आन्दोलन थालिएको उनको भनाइ छ ।
सुवेदीले हल्ला, भ्रम र षड्यन्त्रमा नफसी आन्दोलनको मोर्चामा दृढ रूपमा टिकिरहन सम्पूर्ण शिक्षकलाई आग्रह गरेका छन् । शिक्षकहरु चैत २० देखि काठमाडौंमा आन्दोलित छन् ।
अधिकारको खोजीसँगै शिक्षाको अस्तित्व र गरिमाका लागि आन्दोलन गर्नु परेको सुवेदीको भनाइ छ । संवादमार्फत समस्याको समाधान खोज्न तयार रहे पनि माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।

























