
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए ।
लिबर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनः स्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियुको भूमिका समेत परिवर्तन भएको उल्लेख गरे ।
विगतमा स्ववियु र समग्र विद्यार्थीले प्रजातन्त्र र लोकतन्त्रका लागि अग्रणी भूमिका खेलेको चर्चा गर्दै मेयर कोइरालाले अब शैक्षिक गुणस्तर वृद्धि, मुलुकमा सुशासनलगायतका पक्षमा खबरदारी गर्नु आवश्यक रहेको औँल्याए ।
विद्यार्थीले अब मुलुकको समग्र शैक्षिक गुणस्तर वृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
मेयर कोइरालाले पछिल्लो समय युवापुस्ता लागुऔषधलगायत विभिन्न कुलतमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरे । युवा विद्यार्थी परिवर्तनका संवाहकसमेत भएकाले युवालाई कुलतमा लाग्न नदिन विशेष भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले समाज रूपान्तरणमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
राजनीतिमा लागेपछि जितहार स्वाभाविक भएको बताउँदै अध्यक्ष थापा मगरले जुनसुकै क्षेत्रमा सफल हुन निरन्तरता जरुरी रहेको बताए ।
कार्यक्रममा नेविसंघका तर्फबाट निर्वाचित उपसभापति सुलभजंग बस्नेत, सचिव सुदीक्षा थापा मगर, कोषाध्यक्ष रोशनकुमार पासवान, सहसचिव मोहम्मद साहिल अन्सारीलगायत सदस्यलाई सम्मान गरिएको थियो ।
मेयर कोइराला, अध्यक्ष थापा मगर, आयोजक समितिका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराई (राजन) लगायतले सम्मानपत्र प्रदान गरे ।

























