भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १९:०६

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि ३ दिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ ।

विराटनगर –११ स्थित बाल कल्याण विद्या मन्दिरमा विराटनगर महानगरका मेयर नागेश कोइराला र प्रमुख प्रशिक्षक इन्जिनियर अशोक ठकुल्लाले संयुक्त रूपमा ड्रोन उडाएर तालिमको उद्‌घाटन गरे ।

बिकेभिएम स्कुलका प्राचार्य रबिन दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विपद्को समयमा विराटनगरका विभिन्न स्थान जोखिममा पर्ने, उचित प्रविधि र प्राविधिक जनशक्तिको अभावमा महानगरपालिकाले चाहेर पनि विपद् व्यवस्थापनमा तीव्रता लिन नसकेको बताए ।

३ दिने तालिममा विद्यार्थीले जीआईएसको प्रयोग गरी विपद् व्यवस्थापनमा टेवा पुर्‍याउन सक्ने सक्षम युवा जनशक्ति विराटनगरले पाउँछ भन्ने आशा व्यक्त गर्दै समितिलाई धन्यवाद दिए ।

प्राचार्य दाहालले जीआईएस र एआईजस्ता विषय महानगरको स्थानीय पाठ्यक्रममा पनि समावेश गरिएमा मात्रै आधुनिक शिक्षा क्षेत्रमा सुदृढीकरण गर्न सकिने धारणा राखे ।

प्रमुख प्रशिक्षक ठकुल्लाले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारे । तालिममा ३० जनाको कोटा भए पनि आवेदन दोब्बर परेको थियो ।

तालिममा महानगरपालिकाका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.