
काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलनका कुनै पनि कार्यक्रम तत्काललाई नरोक्ने भएको छ ।
काठमाडौंको सडकमा १८ दिनदेखि प्रदर्शनसहितको आन्दोलन जारी छ । चैत २० गतेदेखि सुरु भएको आन्दोलन अब निर्णायक मोडमा पुगेको छ। आन्दोलन चर्किरहेका बेला शुक्रबार राति शिक्षकका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।
भेटपछि पनि आन्दोलन नरोकिने भएको छ । आन्दोलनकारी शिक्षक नेतासँग प्रधानमन्त्री ओली र सभामुख घिमिरेले अलगअलग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनका मागलाई गम्भीरताका साथ लिएर महासंघका प्रतिनिधिहरूलाई बालुवाटार बोलाएका थिए । करिब २ घण्टासम्म विद्यालय शिक्षा ऐन ल्याउने विधि र उपायबारे खाकासहितको छलफल भयो।
प्रधानमन्त्रीको सल्लाह र सन्देश बोकेर शिक्षकका नेताहरु सभामुख घिमिरेसँग छलफलमा पुगे । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रधानमन्त्री र सभामुखसँगको भेटघाट एवं छलफललाई आन्दोलन समाधानतर्फको महत्त्वपूर्ण पाइलाका रूपमा व्याख्या गरेका छन् ।
‘हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं । माग पूरा नभइकन फर्किंदैनौं । यो आन्दोलन केही लेनदेनको लागि होइन । शिक्षकको भविष्य र शिक्षाको सम्मानका लागि हो,’ उनले भने । सुवेदीले सबैसँग छलफल गर्न तयार रहेको बताउँदै माग पूरा गर्नेतर्फ चैं सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले प्रधानमन्त्री र सभामुखसँग भेटे पनि माग पूरा नभएसम्म आन्दोलन नरोकिने कुरामा ढुक्क हुन सबैमा आग्रह गरेका छन् । शिक्षकहरूको दबाब र आन्दोलनको असर अब सरकारका नीतिगत तहसम्म पुगेको छ।
वैशाख १२ गते संघीय संसद्को अधिवेशन बोलाइएको छ । उक्त अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी छ । तर, आन्दोलन रोकिएको छैन ।
ऐनमा शैक्षिक मूल्य, पेसागत सम्मान, निःशुल्क र समावेशी शिक्षाको ग्यारेन्टी, ट्रेड युनियन अधिकारको सुनिश्चितता र विगतका सहमतिहरू कार्यान्वयन नहुन्जेल आन्दोलन जारी रहने सुवेदी बताउँछन् । ऐन बिना स्कुल नफर्किने उनको भनाइ छ ।
आन्दोलनका कारण नयाँ भर्ना अभियान प्रभावित बनेको छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन । कक्षा १२ को परीक्षा पनि प्रभावित हुने सम्भावना छ । सरकार संवादमा तयार देखिए पनि शिक्षकहरूले आफ्नो अडान छाडेका छैनन् ।


























