
घना बस्ती, व्यापारिक गतिविधि र बढ्दो सहरीकरणले कोशी प्रदेशको राजधानी विराटनगर सहरको चहलपहल दिनहुँ बढिरहेको छ । तर, सहर विस्तारसँगै नागरिकको सुरक्षा पनि उत्तिकै प्राथमिकतामा पर्नुपर्ने हो । पछिल्लो समय विराटनगरमा बढिरहेका चोरीका घटनाले भने यो अपेक्षामाथि प्रश्न उठाएका छन् ।
विशेषगरी चाडपर्वका बेला घरका सदस्य बाहिर गएको मौका छोपेर चोरी हुने गरेको छ । घरका ढोका फोडेर गरगहना, नगद र अन्य मूल्यवान् सामग्री लैजानेदेखि मोटरसाइकल र साइकल चोरी हुनेसम्मका घटना भइरहेका छन् । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति केही क्षणमै गुमाउनुपर्दा पीडित परिवारले आर्थिक क्षतिसँगै मानसिक तनाव पनि बेहोर्नुपर्छ । कतिपयका लागि यस्तो क्षति सहजै पूर्ति गर्न सकिने हुँदैन ।
विभिन्न घटनामा भारतबाट आएका व्यक्तिका साथै स्थानीय व्यक्तिको संलग्नता र सहयोगसमेत खुल्ने गरेको छ । यसले चोरीका घटनालाई सामान्य आपराधिक गतिविधिका रूपमा मात्र हेरेर पुग्दैन भन्ने देखाउँछ । यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान, उनीहरूको सञ्जाल र चोरीका सामानको किनबेच हुने सम्भावित ठाउँसम्म पुगेर अनुसन्धान गर्न आवश्यक छ ।
प्रहरी कार्यालय धाउँदा धाउँदै आजित भएका पीडितले पछि घटनाबारे चासो देखाउनै छाड्ने अवस्था आउनु झन् चिन्ताजनक हो ।
चोरी हुन्छ, उजुरी पर्छ र प्रहरी सक्रिय भएको देखिन्छ । तर, धेरै घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन । केही घटनामा पक्राउ परे पनि समग्र घटनाको तुलनामा त्यो पर्याप्त देखिँदैन । प्रहरी कार्यालय धाउँदा धाउँदै आजित भएका पीडितले पछि घटनाबारे चासो देखाउनै छाड्ने अवस्था आउनु झन् चिन्ताजनक हो । सुरुवाती दिनमा सक्रियता देखाउने तर अनुसन्धान लम्बिँदै जाँदा चासो घटाउने प्रवृत्ति छ भने त्यसले प्रहरीप्रतिको नागरिक भरोसा कमजोर बनाउँछ ।
हालै विराटनगर महानगरपालिका–८ हरिहर चोकस्थित विष्णु श्रेष्ठको घरमा चोरी गर्न पसेका दुई जना पक्राउ परेका छन् । सोमबार बिहान करिब साढे ३ बजे घरभित्र चोरी गर्न मानिस पसेको सूचना पाएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले उनीहरूलाई घरभित्रैबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा झापाको दमक घर भई विराटनगर–८ मा डेरा गरी बस्ने ५९ वर्षीय मोती मियाँ र भारत घर भई सोही स्थानमा बस्ने ५८ वर्षीय बिन्देश्वर दास छन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । यो घटनामा प्रहरीले देखाएको सक्रियता सकारात्मक छ । तर, यस्ता पक्राउलाई अपवादमा सीमित नराखी चोरीका घटनाको नियमित अनुसन्धान र नियन्त्रणमा पनि निरन्तरता दिनुपर्छ ।
जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी र पुराना घटनाको अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।
अपर्याप्त जनशक्ति र स्रोतसाधनको अभावले प्रहरीको काम प्रभावित हुन सक्छ । तर, यही कारण देखाएर आपराधिक घटनाप्रति उदासीन हुन मिल्दैन । नागरिकको सम्पत्तिको सुरक्षा गर्नु प्रहरीको आधारभूत जिम्मेवारी हो । चोरीका घटना भएपछि उजुरी लिने र कहिलेकाहीँ पक्राउ गर्ने काममा मात्र प्रहरीको भूमिका सीमित हुनु हुँदैन । जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी र पुराना घटनाको अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।
चोरी नियन्त्रणका लागि प्रहरी एक्लैले सबै गर्न सक्छ भन्ने पनि होइन । घरधनी, टोल विकास संस्था, व्यवसायी र स्थानीय नागरिकबीच समन्वय आवश्यक छ । टोलस्तरमा सूचना आदानप्रदान र निगरानीको प्रभावकारी व्यवस्था गर्न सकिन्छ । घर छाडेर बाहिर जाँदा अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई सचेत गराउन पनि जरुरी छ । तर, नागरिकको सहयोग माग्दैमा राज्य र प्रहरीको जिम्मेवारी कम हुँदैन ।
सहरको सुरक्षा प्रहरीको उपस्थिति देखाउने विषय मात्र होइन, नागरिकले सुरक्षित महसुस गर्ने अवस्था निर्माण गर्ने कुरा हो ।
विराटनगरवासीले आफ्नो घर र सम्पत्तिको सुरक्षाका लागि सधैँ त्रासमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । चोरीका घटना घटेपछि मात्र सक्रिय हुने होइन, घटना हुन नदिन पूर्वतयारी र निगरानी बढाउनुपर्छ । उजुरी परेका घटनाको अनुसन्धान कहाँ पुग्यो भन्ने जानकारी पीडितलाई दिनुपर्छ । दोषी पहिचान र कारबाहीसँगै चोरी भएको सम्पत्ति फेला पार्ने प्रयास पनि प्रभावकारी हुनुपर्छ ।
सहरको सुरक्षा प्रहरीको उपस्थिति देखाउने विषय मात्र होइन, नागरिकले सुरक्षित महसुस गर्ने अवस्था निर्माण गर्ने कुरा हो । त्यसैले विराटनगरमा बढ्दो चोरी नियन्त्रण गर्न प्रहरी प्रशासनले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । नागरिकको भरोसा भाषण र आश्वासनले होइन, परिणामले जितिन्छ ।



















