
विराटनगर । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी आज (आइतबार)देखि विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ गरिएको छ।
एक कार्यक्रमकाबीच नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य ओसिम आलमले संस्थाको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नेता आलमले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने शैक्षिक परामर्श सेवाको क्षेत्र इमानदारीपूर्वक चलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘शिक्षा सेवा र विश्वासको विषय हो। आजको आवश्यकता भनेको यस्तै जिम्मेवार संस्था हो।’
संस्थाका म्यानेजिङ डाइरेक्टर प्रितेश झाले ‘लक्ष्य ग्लोबल नेटवर्क’ले विद्यार्थी र अभिभावकलाई ठगीबाट जोगाउने उद्देश्यसहित काम गर्ने जानकारी दिए । उनले योग्य विद्यार्थीलाई सुरक्षित वातावरणमा सही देश र सही विश्वविद्यालय पठाउनेमा संस्था प्रतिबद्ध रहेको बताए ।
‘लक्ष्य ग्लोबल नेटवर्क’ ३ जना युवाहरूको संयुक्त पहलमा सञ्चालनमा आएको हो । यसले भारत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशहरूमा विद्यार्थी पठाउने लक्ष्य राखेको छ।
संस्थाले कन्सल्टेन्सी खोलेर मात्र नभइ विद्यार्थीको सम्पूर्ण शैक्षिक यात्रा सुरक्षित बनाउने अठोट लिएको छ । झाका अनुसार विदेश जाने विद्यार्थीले पढाइसँगै बसोबास र जीवनशैलीमा पनि सहजता पाउन जरुरी छ।
‘हामी विद्यार्थीलाई कामका नाममा बेच्ने होइन । योग्य जनशक्ति बनाउने सोचमा छौं। विदेश पढ्न गएका विद्यार्थी विचलित हुन हुँदैन । योग्य बनाएर पठाउने विषय कन्सल्टेन्सीको प्राथमिकता छ,’ उनले भने ।


























