
काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुलाई बाध्यकारी आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्किन बाध्यकारी आदेश जारी गरेको हो ।
त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ । शिक्षकहरू विभिन्न माग राखेर ३ साताभन्दा बढी समयदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
सर्वोच्चले शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश समेत दिएको छ। शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईंकेल बताए।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू’ आदेशमा भनिएको छ।
त्यस्तै, देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगराउन आदेशमा भनिएको छ। तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईईको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन र कक्षा १२ को परीक्षा समयमा गर्न आदेश दिएको छ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने आदेशमा भनिएको छ।
अधिवक्ता श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।





























