
काठमाडौं । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।
यद्यपि, वार्ताबाट निष्कर्ष भने निस्कन बाँकी छ । सोमबार राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको थियो । समय अभाव र केही तयारी गर्नुपर्ने भएकाले वार्ता पूर्णरूपमा निष्कर्षमा पुग्न सकेन ।
सरकारका तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए । शिक्षक महसंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोली वार्तामा सहभागी थियो । शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । केही विषय टुंगो लगाउन बाँकी रहे पनि वार्ता सकारात्मक रूपमा अगाडि बढेको उनको भनाइ छ ।
शिक्षामन्त्री पन्तले वार्ताका लागि सरकार गम्भीर भएर अघि बढेको बताए । कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ । वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्याएर टुंग्याउने पक्षमा सरकार रहेको जानकारी पन्तले दिए ।
महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित हुने जानकारी दिए । यद्यपि, वार्ता सकारात्मक हिसाबले अघि बढेको उनको भनाइ छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । शिक्षक आन्दोलनको माग सम्बोधन हुने पन्तले बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण सरकारी शिक्षण संस्थाको शैक्षिक गतिविधि पूर्णरूपले ठप्प छ ।

























