
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्तालाई आज (बुधबार) निष्कर्षमा पुर्याउने तयारी भएको छ । काठमाडौंको सडकमा चैत २० गतेदेखि आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच भएको यसअघिका वार्ताले निष्कर्ष निकाल्न सकेको छैन ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मंगलबार अबेर रातिसम्म भएको वार्तामा पनि सहमति जुट्न सकेन । शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेस गरेको छ ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । वार्ता सहमतिनजिक पुगेको र आज निष्कर्ष निस्किने शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले बताए । महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय लिने उनको भनाइ छ ।
थापाले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आफूहरु तयार रहेको उल्लेख गरे । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।
शिक्षक ममहासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता तथा राहत शिक्षकसमेतका प्रस्ताव पेस गरेको हो ।

























