
काठमाडौं । कक्षा १२ को परीक्षाको पहिलो दिनै परीक्षा सुरु हुनु अगावै प्रश्न पत्र बाहिरिएको घटना सार्वजनिक भएको छ ।
आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्न पत्र परीक्षा अगाडि नै सार्वजनिक भएको विषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुसन्धान थालेको छ ।
मध्यपुर ठिमीको शङ्ख धर चोकमा रहेको चाणक्य कलेजको सेन्टरबाट परीक्षा सुरु हुनु अगाडि नै प्रश्न पत्र बाहिरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकीलगायतको टोलीले चाणक्य कलेजमा पुगेर सोधपुछ र अनुसन्धान थालेका हुन् ।
सिडिओ अर्यालले सिसिटिभी फुटेज हेर्दा हल्ला भए जस्तै प्रश्न पत्र परीक्षा अगाडि नै सार्वजनिक गरेको देखिएको हुँदा यसबारे अनुसन्धान अगाडि बढाउन निर्देशन दिइसकेको बताए ।
चाणक्य कलेजको सेन्टरमा सूर्य विनायक नगरपालिका –७ को काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीको परीक्षा केन्द्र थियो ।
घटनाका बारे राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरका प्रमुखलाई जानकारी दिइसकिएको र घटनाको थप अनुसन्धान अघि बढेको हुँदा अनुसन्धानपछि मात्रै यथार्थ कुरा बाहिर आउने सिडिओ अर्यालले बताए ।

























