विद्यार्थीहरूले समयको महत्त्व बुझ्न जरुरी छ : सांसद मण्डल 

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २७, शनिबार १८:१०

विराटनगर । विराटनगरको इडेनबर्ग कलेजले नयाँ विद्यार्थीलाई स्वागतका साथ पढाइ पूरा भएकालाई बिदाइ गरेको छ ।

कलेजले आयोजना गरेको विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले विद्यार्थीहरूले समयको महत्त्व बुझ्न जरुरी रहेकाे बताए ।

उनले समयको महत्त्व बुझ्दै, कुनै पनि काम समयमा गर्‍यो भने उ सधैँ अघि बढ्न सक्ने र आफूलाई एउटा अब्बल व्यक्ति बनाउन सक्ने बताए ।

जबसम्म कसैले पनि समय र कामको महत्त्व बुझ्दैन तबसम्म केही गर्न सक्दैन । अझ विद्यार्थीले समयको ख्याल गर्न जरुरी छ, उनले भने ।

विद्यार्थीलाई प्राविधिक र व्यवहारिक शिक्षा अनिवार्य रहेको बताउँदै, मण्डलले भने, ‘प्राविधिक सीपयुक्त शिक्षा आजको आवश्यकता बनेको छ । कसैले पनि कामको वर्गीकरण गर्न हुँदैन । काम सानो वा ठुलो भन्ने हुँदैन । जसले कामको महत्त्व बुझ्न सक्छ उ अघि बढ्छ । त्यसले गर्दा काम सानोबाटै गर्न विद्यार्थीहरूलाई आग्रह गर्छु ।’

क्याम्पस प्रमुख दीपेन्द्र साह (डीके)ले विद्यार्थीलाई संस्कार र सीपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेज अघि बढिरहेको बताए ।

उनले कलेजबाट विद्यार्थी निस्कँदा पढाइको सर्टिफिकेट मात्रै नभए एउटा दक्ष जनशक्ति तयार पार्ने भएकाले विद्यार्थीहरूको रोजाइमा कलेज पर्ने गरेको बताए ।

त्यस्तै, कलेजका सञ्चालक भुवन नेपालले राष्ट्र निर्माणको आधारशिला सक्षम जनशक्ति भएको उल्लेख गर्दै इडेनबर्ग कलेज दक्ष र योग्य जनशक्ति उत्पादनमा केन्द्रित रहेको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त विराटनगरमा महेन्द्र मोरङ कलेजपछि सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने कलेज रहेको बताउँदै, नेपालले भने, ‘कलेजमा बीबीएस, बीएड र आइटीसम्बन्धी विभिन्न कोर्स पढ्नका लागि कोशी, मधेस र बागमतीबाट विद्यार्थीहरू आउने गरेका छन् । विद्यार्थीलाई पढाइ मात्रै होइन । उनीहरूको रुचि र चाहना अनुसार पढाइपछि लोकसेवाको तयारी, शिक्षा सेवा आयोग र प्रहरी प्रशासन सेवाका लागि आवश्यक पर्ने थप कक्षाको व्यवस्था गरिएको छ ।’

कलेजले कृष्ण देवानी स्मृति छात्रवृत्ति पुरस्कार २ जना विद्यार्थीलाई प्रदान गरेको छ । कलेजको बीबीएस तेस्रो वर्षमा अध्ययनरत प्रेम रौनियार र आरिफ अन्सारीलाई प्रदान गरिएको हो ।

कलेजमा १ हजार ३ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा कलेजले यस वर्ष बीबीएस र बीएड प्रथम वर्षमा भर्ना भएका ४ सय ४२ जना विद्यार्थीलाई स्वागत गरेको छ भने बीबीएस र बीएड तह पूरा गरेको १ सय ६० जना विद्यार्थीलाई बिदाइ गरिएको थियो ।

सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.