एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिन चाहन्छ संघीय सरकार

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार ११:१०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘अधिकार स्थानीय तहको नै हो, तर त्यो अधिकार निरङ्कुश र मनलाग्दी ढंगले प्रयोग गर्न नपाओस् भन्न शिक्षकहरुको योग्यता शिक्षा सेवा आयोगले तोक्छ । उनीहको विभिन्न रेकर्ड राख्ने र धेरै अधिकार नदिइकन जुन शिक्षा इकाइ छ, त्यसलाई कायम गर्ने कुरा सरकारको नीति कार्यक्रममा पनि आएको छ । एसईई प्रदेश सरकारलाई नै जिम्मा लगाऔं । प्रदेशलाई जिम्मा लगाएपछि त्यसमा शिक्षा इकाइले पनि सहयोग गर्छ । माध्यमिक शिक्षा अब स्थानीय सरकारको अधिकार हो भन्ने कुरामा प्रस्ट छौं ।’

शिक्षामन्त्री पन्तले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरे । निजी विद्यालयलाई निषेध गरेर जान नसकिने भन्दै कडाइका साथ नियमन र गुठीमा जानेलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले सरकार र आन्दोलनकारीबिचको सहमतिमा बाध्य भएर आफूले हस्ताक्षर गरेको बताए । आफूले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने अवस्था देखेपछि बाध्य भएर हस्ताक्षर गरेको उनले स्पष्टीकरण दिएका हुन् ।

सभापति थापाले भने, ‘सरकार र आन्दोलनकारीबिचको सम्झौता संसदभित्र प्रवेश गर्नु भनेको कमजोरी थियो । मैले त्यहाँ पनि यही शब्द भनेको थिएँ । संसदीय प्रणालीविपरीत मलाई हस्ताक्षर नगराउनुस् भनेको थिएँ । त्यसैलाई जबरजस्ती भन्ने शब्द परेको हो । नत्र मैले जबरजस्ती हात समाएर गराएको भनेको छैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.