त्रिविको ताला खोल्न सर्वोच्चको अन्तरिम आदेश

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १८:५८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाएको ताला तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता महेश भट्टराईको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले त्रिविमा लगाएको ताला खोल्न बुधबार आदेश दिएको हो । १ महिना बढीदेखि त्रिविमा तालाबन्दी छ । जसका कोरण त्रिविका पदाधिकारी कार्यकक्षमा जान पाएका छैनन् ।

त्रिविका कानुनी सल्लाहकार नारायणप्रसाद खनालले गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी भएको बताए । आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी)ले मूल ढोकामा तालाबन्दी गरेका थिए ।

नेविसंघबाट निर्वाचित भएका उपत्यकाका स्ववियुका विद्यार्थी नेताहरूले १४ जेठमा पदाधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् । स्नातक पहिलो वर्षमा भर्ना खुलाउनु पर्ने माग राखेर विद्यार्थी नेताले तोडफोड गरेका थिए ।

विद्यार्थीको तालाबन्दीले प्रभावित भएको त्रिविमा फेरि ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको थियो । तालबन्दीपछि उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् । कर्मचारीसमेत भित्र छिर्न पाएका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.