
विराटनगर । कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले कानुन विषय अध्यापन गराउन सुरु गरेको हो ।
विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साइन्स टेक्नोलोजी एण्ड ल’अन्तर्गत ‘मनमोहन इन्स्टिच्युट अफ ल’ले स्नातकतर्फ बीबीएएलएलबी र स्नातकोत्तरतर्फ एलएलएम अध्यापन गराउन थालेको हो । स्नातकोत्तरतर्फ अपराध कानुनमा एलएलएम अध्यापन गराउन थालिएको विराटनगरमा नै पहिलो हो । बीबीएएलएलबी काेर्ष नेपालमा पहिलाे हाे ।
२०७६ मा स्थापना भएको मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ, फार्मेसी, अस्पताल व्यवस्थापन लगायतका विषयमा अध्यापन गराउँदै आएको छ । बीएएलएलबी र एलएलएमको अध्यापन यसै शैक्षिक सत्रबाट सुरु गरिएको मनमोहन इन्स्टिच्युट अफ लका प्रमुख कोषराज न्यौपानेले बताए ।
पहिलो शैक्षिक सत्रमा एलएलएम र बीबीएएलएलबीमा क्षमता अनुसार नै विद्यार्थी भर्ना गरिएको उनको भनाइ छ । न्यौपानेका अनुसार स्नातकोत्तर अपराध कानुनमा एलएलएममा अध्यापन हुन्छ । एलएलएममा पहिलो वर्ष ४० जना भर्ना भएका छन् ।
मधेश र कोशी प्रदेशका विद्यार्थीले एलएलम अध्ययन गर्न थालेका छन् । उनका अनुसार मनमोहन ईन्स्टिच्युट अफ लले स्नातक तहको कानुनमा देशमा पहिलोपटक व्यवस्थापन विषयमा कानुनको बीबीएएलएलबी(ब्याचलर अफ विजनेश एडमिन्स्टिेसन एण्ड ब्याचलर अफ ल)को पठनपाठन गराइरहेको हाे ।
यो विषयमा विद्यार्थीले ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक विषय अध्ययन गर्नुपर्छ । ५ बर्से बीबीएएलएलबीको कोर्समा सबै विषय समेटिएको छ ।
कानुन विषयको अध्ययन सैद्धाान्तिक मात्र नभएर व्यवहारिक पनि भएकोले विश्वविद्यालयले समय सुहाउँदो आफनै पाठयक्रम निर्माण गरेर एलएलबी र एलएलएमको पढाइ सुरु गरेको विश्वविद्यालयका रजिष्ट्रार डाक्टर दिलनाथ फुँयालले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति डाक्टर सुवाषश्री पोखरेलले कानुन विषय प्राविधिक पनि भएकोले नेपालमै पहिलोपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट बीबीएएलएलबीको पाठयक्रम निर्माण गरेर नेपाल बार काउन्सिल परिषद्बाट स्वीकृत गरिसकेको बताए ।
मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वविद्यालयमा ३ वटा स्कुलहरु (स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन साइन्स, तथा स्कुल अफ एप्लाईड साइन्स टेक्नोलोजी एण्ड ल ) छन् ।
विश्वविद्यालयले अस्पताल व्यवस्थापनमा स्नातकोत्तर, औषधि विज्ञानमा बी फर्मा स्नातक, इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल तथा कानुनमा स्नातक र स्नातकोत्तरको पढाइ सञ्चालन गरिरहेको छ ।

























