
विराटनगर । विराटनगरको भानु कलेजले कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायका नयाँ भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको आयोजना गरेर दुवै संकायमा भर्ना भएका ३ सय बढी विद्यार्थीहरूलाई कलेजको शैक्षिक संरचना, शिष्टाचार, भविष्यका अवसर र कसरी पढाइमा सफलता पाइन सकिन्छ भन्ने कुरा बताइएको थियो ।
कलेजका निर्देशक वसन्त बस्नेतका अनुसार, यो २१ औं ब्याचका विद्यार्थीहरू हुन् । दुवै संकायमा ३–३ वटा सेक्सन सञ्चालन हुने जानकारी दिए । आगामी साउन ५ गतेदेखि नियमित कक्षा सञ्चालन हुने कलेजले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गत सेवा आयोगका अध्यक्ष प्राध्यापक डा. दामोदर थापा क्षेत्रीले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै, जीवनमा सफल हुन शिक्षा र अनुशासनको विशेष महत्त्व रहेको बताए ।
सो अवसरमा कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले, ‘विद्यार्थीहरूलाई कलेजले प्रदान गर्ने शैक्षिक वातावरण, समयको सदुपयोग र इमानदार लगनशीलता नै तपाईंहरूको सफलताको आधार हुनेछ ।’
कार्यक्रममा शिक्षाविद् प्रा .डा. देवेन्द्र अधिकारीले शिक्षा प्रणाली, विद्यार्थीको भूमिकासहितको आधुनिक शिक्षा र व्यवहारिक ज्ञानको महत्त्वबारे विचार व्यक्त गरे ।
उनले विद्यार्थीहरूलाई ‘सिर्जनशीलता, जिज्ञासा र मेहनत’ जीवनको मूल मन्त्र बनाउन आग्रह गरे।
कार्यक्रममा कक्षा १२ का विद्यार्थी स्वस्तिका चौधरी, अनिषा रम्तेल, स्मारिका रजक र मान्यता बस्नेतले आआफ्नो अनुभव बाँड्दै विद्यालय जीवन, समय व्यवस्थापन, परीक्षाको तयारी र सहपाठीबीच समन्वयबारे बताएका थिए ।
त्यसैगरी, कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीमध्ये नेशनल अपूर्व खनाल, भूमिका चौधरी, अन्वेषा पोखरेल र आँचल मेहताले भविष्यप्रतिको आशा र अपेक्षालाई प्रस्तुत गरे ।
उनीहरूले कलेजको वातावरणप्रति उत्साह व्यक्त गर्दै पढाइसँगै व्यक्तित्व विकासमा पनि आफूहरू सक्रिय हुने प्रतिबद्धता जनाए ।
कलेजका शिक्षक–शिक्षिका तथा अभिभावकलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिले गरेका थिए ।
भानु कलेज विराटनगरमा माध्यमिक तहको गुणस्तरीय शिक्षाका लागि परिचित संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
नियमित पठनपाठनसँगै प्रयोगात्मक ज्ञान, अतिरिक्त क्रियाकलाप र विद्यार्थी–शिक्षक समन्वय कलेजको विशेषता रहेको निर्देशक बस्नेतले बताए ।

























