कान्तिपुरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण 

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १३:२४

विराटनगर । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई विराटनगरस्थित कान्तिपुर कलेजले स्वागत तथा अभिमुखीकरण गरेको छ ।

कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकायमा भर्ना भएका १ हजार ६५ विद्यार्थीलाई स्वागत गरिनुका साथै कलेजको शैक्षिक संरचना, नीति नियम, अवसर र शिक्षण पद्धतिबारे जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सामाजिक उत्तरदायित्वको सन्तुलन मिलाएर अघि बढ्न सुझाव दिए ।

८० प्रतिशत समय अध्ययनमा र २० प्रतिशत समय सामाजिक कार्यमा समर्पित गर्न सके मात्र व्यक्तित्व विकास हुने, उनले बताए ।

कलेजका प्रिन्सिपल भुवन नेपालले यस वर्ष विज्ञान संकायमा ४ सय ५, व्यवस्थापन संकायमा ५ सय १० र होटेल म्यानेजमेन्ट संकायमा १ सय ५० जना गरी १ हजार ६५ जना विद्यार्थी भर्ना भएको जानकारी दिए ।

उनले भने, ‘२ हजारभन्दा बढी विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका थिए, तीमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको छनोट गरेको हो ।’

उनका अनुसार प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक परिणाम ल्याउने क्रम जारी राखेकै कारण कान्तिपुर कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ ।

‘४.० जीपीएका विद्यार्थीहरूको पनि पहिलो रोजाइमा हामी नै भएका छौँ,’ उनले भने ।

कान्तिपुर ‘कलेज’ मा मात्रै होइन स्कुल लेबलमा पनि अब्बल रहेको हुँदा एसईईमा प्रत्येक वर्ष राम्रो नतिजा ल्याउन सफल भएको हुँदा विद्यार्थी र अभिभावले सधैँ हामीलाई नै रोज्नु हुन्छ, प्रिन्सिपल नेपालले, भने ‘हाम्रो स्कुल र कलेज दुवैमा पाठ्यपुस्तकको शिक्षाका साथै विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा, नृत्य, खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलाप मार्फत उनीहरूको व्यक्तित्व विकासमा ध्यान दिने गरेका कारण विद्यार्थीहरूले मेहनत गरेर पढ्ने र नतिजा राम्रो आउने गरेको छ ।’

कार्यक्रममा कलेजका विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने नृत्य प्रस्तुति गरे । दर्शकको मन जितेका थिए ।

त्यस्तै, एसईईमा ४ जीपीए ल्याउने आयुषा कार्की र प्रवेश परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरण र अवसरहरूसँग परिचित गराउनुका साथै उनीहरूमा नयाँ उत्साह थपेको सहभागीहरूले बताएका छन् ।

शिक्षामा नवीनता र समय सापेक्ष पाठ्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कान्तिपुर कलेजले आगामी दिनमा पनि विद्यार्थीको भविष्य निर्माणमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.