
विराटनगर । शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षाको पर्याय बनेको विराटनगरस्थित कान्तिपुर कलेजले एक पटक फेरि आफ्नो शैक्षिक क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।
यस वर्ष कक्षा १२ को परीक्षामा विज्ञान संकायका विद्यार्थी राजनारायण महतोले सर्वोत्कृष्ट अंक ३.९६ जीपीए प्राप्त गरी नेपालभरिकै उत्कृष्ट नतिजा ल्याएको कलेज प्रशासनले जनाएको छ ।
कलेजले विज्ञान संकायमा कोशी प्रदेशबाट प्रथम र देशभर सर्वोत्कृष्टभित्र परेको दाबी गरेको छ ।
यस कलेजले विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा दिलाउन सफल भएको कलेजले जनाएको छ ।
जसमध्ये ३.६१ देखि ४.०० जीपीए ३७ जना, ३.२१ देखि ३.६० जीपीए ३ सय ५८ जना, २.८१ देखि ३.२० जीपीए १ सय ८७, २.४१ देखि २.८० जीपीए १ सय ५३ र २.०१ देखि २.४० जीपीए ७४ जना ल्याउँदा ९४ प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेसँगै यो संस्था नेपालकै उत्कृष्ट कलेजमध्ये एकको रूपमा चिनिन सफल भएको कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिए ।
सुरुदेखि नै गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको कलेजले विद्यार्थीहरूको भविष्य निर्माणमा खेलेको भूमिकालाई अभिभावक, विद्यार्थी र शैक्षिक क्षेत्रका विज्ञहरूले अत्यधिक प्रशंसा गरेको बताउँदै, प्राचार्य नेपालले भने, ‘विशेष गरी विज्ञान संकायमा कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षकहरू, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणद्वारा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै आएका छौँ । हामी विद्यार्थीको केवल अंकमा होइन, जीवनका हरेक क्षेत्रमा सफलता दिलाउने शिक्षामा विश्वास गर्छौँ ।’
विद्यार्थीको यो सफलता केवल अंकमा मात्र सीमित छैन, यसले विद्यार्थीलाई जीवनका हरेक क्षेत्रमा सफल हुन तयार पारेको छ ।
कलेजले प्रयोगात्मक शिक्षा, अनुभवी शिक्षक र प्रविधिमैत्री वातावरणमा जोड दिँदै आएको र कलेजले विद्यार्थीहरूलाई मेडिकल, इन्जिनियरिङ, बैंकिङ र निजामती सेवा लगायतका विभिन्न क्षेत्रमा सफलता दिलाउनु आफ्नो मुख्य उद्देश्य रहेको प्राचार्य नेपालले बताए ।
संस्कारसहितको सीप मूलक शिक्षामा जोड दिई प्रयोगात्मक सिकाइमा जोड दिनु कान्तिपुर कलेजको विशेषता रहेको उनले स्पस्ट पारे ।
विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन पढ्न चाहने विद्यार्थीका लागि यो कलेज अब प्रथम रोजाइको केन्द्र बन्दै गएको बताउँदै, प्राचार्य नेपालले भने, ‘अहिले ११ र १२ कक्षामा करिब २ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । २०८१ को एईई परीक्षामा यसै विद्यालयकी छात्रा आयुषा कार्कीले ४.०० जीपीए ल्याइ उत्कृष्टताको पहिचान बनाइन् । आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शद्वारा कलेजले देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान कायम राखेको छ ।’
कान्तिपुर कलेजले देखाएको प्रतिबद्धता र उपलब्धिहरूले नेपाली शिक्षा क्षेत्रमै सकारात्मक ऊर्जा थपेको छ । आगामी दिनमा पनि यस्तै सफलता दोहोर्याउँदै जाने कलेजले जनाएको छ ।

























